समाज

भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनर्निर्माण

भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनर्निर्माण
फागुन - ५ । सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनर्निर्माण गरेको छ । १४ जिल्लामा भूकम्पबाट भत्किएका सात हजार ९ सय २३ विद्यालयमध्ये एक हजार ४९ विद्यालयमा पुनर्निर्माण गरिएको शिक्षा मन्त्रालयका सहसचिव एमनारायण श्रेष्ठले जानकारी गराए । शिक्षा पत्रकार सञ्जालले बिहीबार आयोजना गरेको भूकम्पपछि विद्यालय पुनर्निर्माणको अवस्थाबारे अन्तक्र्रिया कार्यक्रममा उनले सरकार, विभिन्न दातृ निकाय संस्थाको सहयोगमा ती विद्यालयको पुनर्निर्माण गरिएको बताए ।  तीमध्ये जापानी सहयोग नियोक (जाइका)ले ६ जिल्ला र एसियाली विकास बैंकले आठ जिल्लामा १ सय २ विद्यालय तथा विभिन्न गैरसरकारी संस्थाले ८८ विद्यालय बनाएका छन् । बाँकी सरकारी बजेटमा विद्यालय निर्माण गरिएका छन् । सहसचिव श्रेष्ठले भूकम्पबाट क्षति भएका विद्यालय बनाउन सरकारले चार अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताए । भूकम्पबाट क्षति भएका जाइकाले २ सय ८३, एसियाली विकास बैंकको सहयोगमा १ सय ७५, चीनको सहयोगमा १२ जिल्लाका १७ विद्यालय अनुदानमा बनाउने समझदारी भएको छ । यसैगरी भारतीय सहयोगमा सात जिल्लाका ७० विद्यालयमा बनाउने तयारी भइरहेको छ । सरकारको विभिन्न दातृ निकायबाट दुई हजार ८ सय २ विद्यालय बनाउने लक्ष्य रहेको छ । दातृ निकायबाट एक खर्ब ८० अर्ब रुपैयाँ विद्यालय निर्माणका लागि कुरा भए पनि अहिलेसम्म ५५ अर्बको स्रोत पहिचान भएको उनले बताए । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विभागले असारमसान्तसम्म ४४ जिल्लामा ४ हजार ४ सय १० कक्षाकोठा बनाउने बताए । उनले देशभरि नै दुई लाख २८ हजार कक्षाकोठा बनाउन आवश्यक पर्ने भए पनि ५७ हजार ७ सय ४६ कक्षाकोठा बनाउने विभागको योजना रहेको धारणा राखे । कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले सरकारले विद्यालय पुनर्निर्माणका लागि पर्याप्तमात्रामा बजेट नछुट्याएकाले सुस्त गतिमा काम भइरहेको बताए ।

School पुनर्निर्माण विद्यालय

विशेष