स्वास्थ्य

कुष्ठरोग उन्मूलनका लागि एलपिइपी कार्यक्रम सञ्चालन

कुष्ठरोग उन्मूलनका लागि एलपिइपी कार्यक्रम सञ्चालन
फागुन - ६ । कुष्ठरोग निवारणका लागि मोरङमा दुई वर्षदेखि लेप्रोसी पोस्ट एक्सपोसर प्रोपाइलासिस (एलपिइपी) कार्यक्रम सञ्चालनमा ल्याइएको छ। नेदरल्यान्ड लेप्रोसी रिलिफ एसोसिएसनको सहयोगमा तीन वर्षका लागि यो कार्यक्रम मोरङका साथै झापा र पर्सा जिल्लामा सञ्चालन गरिएकाे हाे । यस कार्यक्रमको माध्यमबाट २०७० सालदेखि कुष्ठरोगका बिरामीसँगै रहेका छिमेकीको (नयाँ कुष्ठरोगी खोजी गरेर) समेत स्वास्थ्य परीक्षण गरी उपचार हुँदै आएको छ। यसमा संलग्न टोलीले कुष्ठरोगी र संगैका छिमेकीलाई कार्यक्रमको महत्व र उद्देश्यबारे जानकारी गराउँछन्। त्यसपछि सम्बन्धित व्यक्तिले स्वास्थ्य परीक्षणका लागि स्वीकृति दिए गर्भवती र दुई वर्षसम्मका बालबालिकाबाहेक सबैको स्वास्थ्य परीक्षण गरिन्छ। एक उपमहानगरपालिका, आठ नगरपालिका र ५० गाविस भएका मोरङ जिल्लाका ४५ गाविसमा यो कार्यक्रम सम्पन्न भइसकेको छ। सो कार्यक्रममार्फत ४३ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत मुलुकचन्द राजवंशीले जनाएका छन्। कुष्ठरोग दुई प्रकारको हुन्छ। छ महिना औषधि खाने पौंसी बैसिलरी (पिबी) र एक वर्ष औषधि खानुपर्ने मल्टी बेसिलरी (एमबी)। सो कार्यक्रममार्फत पिबीका ३१ जना र एमबीका १२ जनाका साथै दुईजना क्षयरोगीसमेत फेला परेको अधिकृत राजवंशीले बताए। प्रत्येक १० हजारभध्ये एक वासो भन्दा कम कुष्ठरोगीको संख्या घटाउँदै लाने सरकारी लक्ष्य बमोजिम यस जिल्लामा एलपिइपी कार्यक्रम ल्याइएको हो। जिल्लामा आव २०७१/७२मा २१५ जना कुष्ठरोगीमध्ये १४ वर्षमुनिका १९ र महिला ९१ रहेकामा १४५ जना उपचार गराएर निको भएका थिए। त्यसैगरी २०७२/७३मा २०२ जना रोगीमध्ये १४ वर्षमुनिका १८ र महिला ८८ जना रहेकामा १५९ जनाले उपचार गराई निको भएका थिए। सो अवधिमा प्रति १० हजार मानिसमा १ दशमलव ५९ जना सो रोगबाट पीडित पाइएको थियो। चालु आवर्षको चार महिनामा नयाँ ६५ जना गरी १५७ जना बिरामीको उपचार भइरहेको छ। सरकारले कुष्ठरोगीका लागि निःशुल्क औषधि उपलब्ध गराउँदै आइरहेको छ। मोरङमा प्राथमिक स्वास्थ्यकेन्द्र र स्वास्थ्य चौकीसमेत गरी ६९ स्थानबाट निःशुल्क रुपमा औषधि वितरण गरिन्छ। बिरामी निको भइसकेपछि रु एक हजार नगदसमेत उपलब्ध गराइन्छ। यसका साथै खुट्टामा घाउ भएको, सुन्निएका बिरामीको नापअनुसार जुत्तासमेत उपलब्ध गराउने गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। माइक्रोब्याक्टेरियन लेप्रेको जीवाणुबाट हुने रोगमा बिरामीका शरीरमा लाटो फुस्रो हुनु, नचिलाउनु, हातखुट्टा झमझम गर्नु, कानको लोती बाक्लो हुनु, नशा सुन्निनु, मोटो हुनु र आँखीभौँ झर्नुजस्ता लक्षण देखा पर्छ।
प्रभाषचन्द्र झा

विशेष