चिनी उद्योगले प्रदूषण फैलाउँदा सर्वसाधारण मारमा

फागुन–७ । नवलपरासीका विभिन्न चिनी उद्योगले प्रदूषण फैलाउँदा सर्वसाधारण मारमा परेका छन् ।
जिल्लाका ठूला उद्योगमध्ये पर्ने सुनवलस्थित लुम्बिनी चिनी उद्योग, प्रतापपुरस्थित इन्दिरा सुगर उद्योग र कुडियास्थित बागमती चिनी उद्योगबाट निस्कने प्रदूषणबाट सर्वसाधारण मारमा परेका हुन् । चिनी उद्योगको प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पुगेको भन्दै स्थानीय यसअगावै पटकपटक आन्दोलन समेत गर्दै आएका छन् । यद्यपि स्थानीयवासीले उद्योगहरुले आफ्नो उद्योगबाट निस्कने प्रदूषणबाट नियन्यण गर्न माग गरेपनि स्थानीय प्रशासन मौन छ ।
विशेष गरी सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगका कारण सुनवलसहित आसपासका क्षेत्र र प्रतापपुरस्थित इन्दिरा सुगर उद्योग र कुडियास्थित बागमती चिनी उद्योगको प्रदूषणले दक्षिण भेगका १० गाविसका स्थानीय प्रभावित हुँदै आएका छन् । उद्योगको प्रदूषणले मलेरिया रोगको सङ्क्रमण फैलिन थालेको भन्दै नियन्त्रणको माग स्थानीयले गरेका छन् । स्थानीयले उद्योगकै कारण निस्केर प्रदूषणले आफ्नो स्वास्थ्यमा प्रतिकूल असर परेको जनाएका छन् ।
अझ सबैभन्दा बढी प्रतापपुरस्थित इन्दिरा सुगर उद्योग र कुडियास्थित बागमती चिनी उद्योगबाट निस्केको प्रदूषणले गुठीप्रसौसौनी, कुडिया, नर्सही, पक्लिहवा, प्रतापपुरलगायतका १० गाविस प्रभावित बनेका छन् । चिनी उत्पादनको समयपछि उद्योग बन्द भए पनि सुनवलस्थित लुम्बिनी चिनी उद्योग, प्रतापपुरस्थित इन्दिरा सुगर उद्योगले स्प्रिट प्लान्टबाट सञ्चालन भएकाले त्यसको फोहर खोलामा बगाउँदा झन मानव जीवनको स्वास्थ्यमा प्रतिकूल असर परेको पाइन्छ । जसका कारण स्वास्थ्यदेखि पशुचौपायसमेत प्रभावित बनेका छन् । रासस
चिनी उद्योग
नवलपरासी
प्रदूषण