देश

कृषिको दिगो विकासका लागि सरकार लागिपरेको छ - मन्त्री चौधरी

कृषिको दिगो विकासका लागि सरकार लागिपरेको छ - मन्त्री चौधरी
फागुन - ७  । कृषिमन्त्री गौरीशङ्कर चौधरीले कृषि क्षेत्रको दिगो विकासका लागि सरकार लागिपरेको बताएका छन् । बृहत्तर विकासका लागि राय सुझाव सङ्कलनको कार्य भइरहेको बताए । शनिबार कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ खजुवापट्टिस्थित पल्टु फिस ह्याचरीको अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा उनले भने– 'कृषि क्षेत्रको बृहत्तर विकासका लागि आगामी बजेटमा के कस्तो कार्यक्रम ल्याउन सकिन्छ, त्यसवारे मन्त्रालले देशभरीबाटै राय सुझाव सङ्कलन गरिरहेको छ ।' मन्त्री चौधरीले आएको राय सुझावका आधारमा सरकारले किसानमुखी कृषि बजेट तर्जुमा गर्ने गृहकार्यमा जुटेको चर्चागर्दै तेलहन, दलहन, अन्नबाली, फलफूल, माछा, मासु र तरकारीमा देशलाई दश वर्षभित्रै आत्मर्निभर बनाउने गरी आगामी बजेट आउने बताए । कृषिको दिगो विकासका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीरण आयोजना सञ्चालन गरिएको बताउँदै उहाँले कृषि क्षेत्रमा यान्त्रीकीकरण र आधुनिकीकरण गरी बीउबिजन र मलखाद्यमा आत्मनिर्भर बनाउन सरकार कटिबद्ध रहेको विचार व्यक्त गरे । मन्त्री चौधरीले खेती गर्दा आइपर्ने समस्या समाधानका लागि सरकारले गाउँगाउँमा जेटिए राख्ने कार्यलाई अगाडि बढाइएको उल्लेख गर्दै “कृषिको उत्पादन र उत्पादकत्व बढाउने कार्यलाई अभियानका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माछापालनका लागि भीमदत्तनगर र बेदकोटलाई मात्रै राखिएकोमा त्यसलाई अन्य क्षेत्रमासमेत विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । भारतबाट मात्रै बर्सेनि रु ३३ करोडभन्दा बढीको तरकारी र फलफूल मात्रै यहाँ भित्रिने गरेकाले यसलाई निरुत्साहित गर्न जिल्लामा तरकारी र फलफूल उत्पादनमा जोड दिएको बताउँदै उनले चालु आवमा माछाको उत्पादनमा वृद्धि गर्न पाँच वटा माछाका नर्सरी राख्ने योजना कार्यालयको छ भने । माछाको ह्याचरी सञ्चालक पल्टु चौधरीले माछाको नश्ल सुधार र माछाको बीउ उपलब्ध भए माछाको परनिर्भरता अन्त्य गर्न सकिनेमा जोड दिए ।

गौरीशङ्कर चौधरी

विशेष