समाज

फागुन २८ मा वाग्मती सफाइको विशेष कार्यक्रम हुँदै

फागुन २८ मा वाग्मती सफाइको विशेष कार्यक्रम हुँदै
फागुन - ७ । शनिबार उपत्यकाका प्रमुख नदी सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको १ सय ९७ औँ हप्तामा मीनभवन पुलदेखि कोटेश्वर महादेव मन्दिरसम्मको वाग्मती क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए। सफाइमा अधिकार सम्पन्न वाग्मती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी ५ सय व्यक्तिको सहभागिता रहेको थियो । सफाइको नेतृत्व पूर्वसचिव किशोर थापाले गरेका थिए । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक समिति सदस्यहरु, गायत्री परिवारका डा राजु अधिकारी, हलेसी डेकोरका हेमराज कार्कीलगायतका व्यक्तिको उपस्थिति थिए । आगामी शनिबार १ सय ९८ औँ हप्ताको वाग्मती सफाइ कोटेश्वर महादेव मन्दिरमुनिको वाग्मती क्षेत्रमा गरिने छ । फागुन २८ गते शनिबार वाग्मती सफाइको २ सय औँ हप्तालाई विशेष कार्यक्रमका रुपमा गर्ने तयारी गरिएको छ । तयारीका लागि मुख्य सचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा सरकारका सचिवहरु र वाग्मती सफाइ महाअभियानका अभियन्ता सहभागी रहेको समिति गठन गरिएको छ । यस अवसरमा शङ्खमूलसम्मको वाग्मतीलाई ढलमुक्त गरी स्नानयोग्य बनाइँदैछ । २ सय औँ हप्ताको कार्यक्रम सुन्दरीजलदेखि चोभारसम्म गर्ने गरी तयारी गरिएको छ । सुन्दरीजलदेखि चोभारसम्मका १४ स्थानमा विशेष तयारीका लागि सरकारका १४ जना सचिवलाई विशेष जिम्मेवारी दिइएको श्रेष्ठले जानकारी दिए । यसको समन्वय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश थपलियाले गरिरहेका छन्। रुद्रमती सफाइको १ सय ५६ औँ हप्तामा आज कालोपुल–रातोपुल हुँदै सेतोपुलसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए। सफाइमा काठमाडौँ महानगरपालिकाका वडा नं ४, ५, ७, ९ र ३३ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारी, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायतको सहभागिता थियो । सफाइको नेतृत्व पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गर्नुभएको थियो । शर्माले आजैदेखि रुद्रमती सफाइ अभियान समन्वय समितिको जिम्मेवारी पनि लिएका छन् । विष्णुमती सफाइको १ सय २९ औँ हप्तामा शनिबार तारकेश्वर नगरपालिकाको महादेव खोला र विष्णुमतीको दोभानमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा सफाइ भएको थियो । यसैगरी गुह्येश्वरीमाथिको वाग्मती नदीमा ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ र पुडासैनी मैत्री समाजलगायतका संस्थाले सफाइ गरेका छन् । विसं २०७० जेठ ४ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । वाग्मती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्नसमेत स्थानीय बासिन्दा जुटेका छन् ।

वाग्मती सफाइ

विशेष