समाज

पानीको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी हत्या

पानीको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी हत्या
फागुन–८ । डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । कोटेली–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउदको आइतबार खुकुरी प्रहारबाट हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार स्थानीय भीमबहादुर भूलले साउदलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खानेपानीको विषयमा बिहान विवाद भएपछि दुबैजनाको बीचमा कुटाकुट भएको थियो । सोही क्रममा भीमले साउदमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते साउदलाई परिवारका सदस्यहरुले उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरातर्फ ल्याएका थिए । उनलाई अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ । उनको छातीमा गम्भीर चोट लागेको थियो । घटनापछि अभियुक्त भूललाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

खुकुरी प्रहार डडेल्धुरा हत्या

विशेष