खेल

विधान संशोधन गरेर क्यानको विवाद मिलाउन आइसीसी सहमत

विधान संशोधन गरेर क्यानको विवाद मिलाउन आइसीसी सहमत
फागुन–९ । अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) विधान संशोधन गरेर नेपाल क्रिकेट संघ (क्यान) मा देखिएको विवाद मिलाउन सहमत भएको छ । काठमाडौंमा गत शनिबार र आइतबार बसेको आइसीसीको प्रतिनिधिसंगको बैठक पछि आइसीसीले पहिलो पल्ट आफ्नो धारणा स्पष्ट पारेको हो । आइसीसीको दुबईस्थित कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली क्रिकेटमा सक्रिय व्यक्तिबाट बनाइएको सुझाव समूह, जसलाई आइसीसीले मान्यता दिएको थियो, उसले संशोधित विधान अनुसार क्यानको निर्वाचन गराउन सुझाव दिएको छ । आइसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरूद्ध मार्च ११ र १३ मा हुने खेलका क्रममा आइसीसीका पदाधिकारी काठमाडौं आउने र विधान संशोधनलगायत निर्वाचनको समय तय गर्ने स्पष्ट पारेको छ । आइसीसीले राजनीतिक हस्तक्षेपलाई मुख्य आधार र स्वच्छ निर्वाचन हुन नसकेको भन्दै १० महिनाअघि नेपाललाई प्रतिबन्ध लगाएको थियो । जसका कारण आइसीसीले नेपाललाई विकाश बजेट नपठाए पनि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गर्दै आइरहेको छ ।

आईसीसी नेपाल क्रिकेट संघ क्यान

विशेष