राजनीतिमा लागेकी तेस्रो लिङ्गी मोनिका भन्छिन् –‘यो देशको प्रधानमन्त्री भएरै छाड्छु’
कैलालीको लम्कीदेखि काठमाडौं आएकी तेस्रो लिङ्गी मोनिका शाही राप्रपाकाे महाधिवेशन स्थल भृकुटीमण्डपमा अत्यन्तै ब्यस्त देखिन्थिन् । उनी राप्रपाको महाधिवेशनमा भाग लिन लागि कैलालीको लम्की, चुवादेखि काठमाडौं आएकी हुन् ।
जनयुद्धको बेला माओवादी पीडित बनेकी उनी नेपालमा नागरिकता र राहदानी लिने पहिलो तेस्रो लिङगी हुन् । करातेमा स्वर्णपदक जितेर उनले आफूलाई खेलाडीको रुपमा समेत चिनाएकी छिन् । राप्रपामा सक्रिय रहेकी शाहीसँग नेपालआजका सागर बुढाथोकीले गरेको कुराकानीकाे सम्पादित अालेख । ‘राजनीतिमा कहिलेदेखि ?’ उनलाई यो र यस्तै प्रश्न धेरैले तेस्र्याइरहन्छन् । राजनीतिमा 'म' भर्खरै लागेको हैन भन्दाभन्दै थाक्छिन् । ‘म राजनीतिमा विद्यार्थीकालदेखि नै लागेकी हुँ, गाउँ, वडा, नगर, क्षेत्र, जिल्ला हुँदै केन्द्रमा आएकी छु ।’ उनले यस्तै उत्तर दिन्छन् । उनी सबै ठाउँमा चुनिएर, छानिएर, सबैले सहयोग गरेर यो स्थानसम्म आउन सफल भएकी हुन् । एक्कासी राजनीतिमा आएकी हैनन् । मोनिका कैलालीबाट केन्द्रीय सदस्य बन्न काठमाडौं आएकी हुन् ।
उम्मेदारी दर्ता गरेपनि फिर्ता गरिन् । उनलाई अध्यक्ष कमल थापाले मनोनित केन्द्रीय सदस्य बनाउने वाचा गरेकोले उमेदारी फिर्ता लिनुको कारण खोलिन् । ‘कमल थापालगायत सबै नेताहरुले मनोनित केन्द्रिय सदस्य बनाउने कुरा गर्नुभएको छ, त्यसैले उम्मेदारी फिर्ता लिएँ ।’
उनी २०४६ साल विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेपनि ५४ सालबाट सक्रिय रुपमा लागेको बताउँछिन् । समलिङ्गी, तेस्रो लिङ्गी र अल्पसंख्यक नेपालीहरुले अधिकार पूर्णरुपमा प्राप्त गर्न नसकेका कारण उनीहरुको हक अधिकारको सुरक्षाका लागि आफू राजनीतिमा लाग्नु परेको बताइन् । उनी आफैँ तेस्रो लिङ्गी भएका कारणले पनि यस्ता धेरै समस्या भोगिसकेकी छिन् । तेस्रो लिङ्गीले अवसर पाए जेपनि गर्न सक्छन् भन्ने देखाउन राजनीति आवश्यक रहेको उनको ठम्याइ छ । ‘आफू जस्ता मानिसहरुको अधिकारको आवाज उठाउन राजनीतिमा लागेँ ।’ मोनिका भन्छिन्– ‘तेस्रो लिङ्गीले अवसर पाए जेपनि गर्न सक्छन् भन्ने प्रमाणित गर्न म लामो समयदेखि राजनीतिमा संर्घष गर्दैछु ।’
‘हिमालयन हिरो’ विनोद शाहीको संर्घषदेखि आत्महत्याको प्रयाससम्म
तेस्रो लिंगीहरुलाई अन्य लिङ्गको तुलनामा राजनीतिमा हेर्ने दृष्टिकोण फरक भएको उनको अनुभव छ । उनी राजनीतिमा भाषण गर्न मात्रै नआएकाले सानातिना कुराहरुलाई मतलब नराख्ने बताइन् । आफू राजनीतिमा आउनूले नेपालका मात्रै नभएर विश्वकै तेस्रो लिङगीहरुको सम्मान हुने उनको धारणा छ । उनी राप्रपा नेपाल पार्टीको एक्लो तेस्रो लिङगी पनि प्रतिनिधी हुन् । ‘राप्रपा नेपालले तेस्रो लिङ्गीहरुको सम्मान र मेरो पार्टीप्रतिको समर्पण हेरेर मलाई केन्द्रीय सदस्यमा चुन्न लागेका हो ।’ उनले थपिन्– ‘अहिलेसम्मको त्याग र राजनीति संर्घषलाई सबै नेपालीहरुको सम्मानताको लागि योगदान गर्नेछु ।’ उनको राजनीतिमा लाग्नूको उद्देश्य सामान्य छैन । १४ हजार ९ सय तेस्रो लिङ्गीलाई अधिकार दिलाउन मात्रै पनि राजनीतिमा नलागेको बताउँछिन् । राज्यले अवसर दिए आफूमा प्रधानमन्त्री बनेर देश चलाउन सक्ने क्षमता रहेको उनले खुलासा गरिन् । ‘हामी तेस्रो लिङ्गीहरु प्रधानमन्त्री हुन सक्छौँ । राष्ट्रपति हुन सक्छौँ । सभामुख हुन सक्छौँ । तर, त्यसका लागि सरकारले कानुन बनाउनुप¥यो ।’ उनी तर्क पेश गर्छिन्– ‘अहिले महिला राष्ट्रपति, महिला सभामुख र महिला नै प्रधानन्याधिस छन् । महिला सक्छन् भने तेस्रो लिङ्गी किन सक्दैनन् ?’ महिलाभन्दा तेस्रो लिङ्गीहरु स्वतन्त्र हुने उनको बुझाई छ ।
‘हामीले बिहे गर्नु परेको छैन, पारिवारिक तनाव लिनू परेको छैन, मर्दा पनि रुने कोही हुदैनन् ।’ उनले थपिन् – ‘त्यसैले हामी देशको लागि शहिद हुन सक्छौ ठूलो त्याग गर्न सक्छौ । यस्तै त्यागी मान्छे प्रधानमन्त्री भयो भने देशको विकाश हुन सक्छ ।’ लामो संर्घषले गर्दा आत्मविश्वासी बनाउन र राजनीति राजनीति बुझ्न सहयोग गरेको बताइन् । आफू घरभित्रै बस्ने र केही नगर्ने हो भने तेस्राे लिङ्गीहरुले अधिकार प्राप्त गर्न नसक्ने उनको तर्क छ । महिलाभन्दा तेस्रो लिङ्गी शारीरिक रुपमा बलिया हुने हुनाले उनीहरु सेनाप्रहरीमा पनि जान पाउनु पर्ने उनको माग छ । तेस्रो लिङ्गी महिलाभन्दा क्षमतावान भएकोले प्रधानमन्त्री, राष्ट्रपति, सभामुखका साथै प्रधानन्याधिसलगायतका स्थानमा पनि तेस्रो लिङ्गीले प्रतिनित्व गर्न पाउनु पर्ने उनको राजनीतिक एजेण्डा भएको बताइन् । उनी राप्रपा नेपालमा सुरुवाती चरणमा लाग्दा माओवादी जनयुद्धमा होमिएको थियो । राजाको पक्षमा लागेको भन्दै उनलाई माओवादी कार्यकताएले बीच सडकमा ल्याएर दिउँसै कपाल मुड्यो । माओवादीले पूरै कब्जा गरेको हुनाले पुलिस प्रशासन कोही थिएन । गाउँलेहरु बोल्न सक्दैनन् थिए ।
त्यतिबेला उनलाई माओवादीले एकहप्तासम्म घरपरिवारबाट सम्र्पकविहीन बनायो । माओवादीले दिएको यातना स्मरण गर्दै उनले भनिन् – ‘बन्दुकको कुञ्जोले हिर्काउथे । राप्रपा भएकै कारणले मैलै धेरै नै यातना पाएँ । अरु गल्ती केही थिएन् । भो ! यसको बारेमा अरु कुरा नगराैँ ।’ उनका गह भरी आँशु छचल्किए । उनी अहिले तेस्रो लिङ्गी र अपांगहरुको लागि बिधान बनाउने लागि पर्ने बताउँछिन् । समग्र अल्पसङ्ख्यक नेपालीको हितमा काम गर्ने उनको सोच छ ।
‘समलिङ्गीहरुले नागरिकता र राहदानी तेस्रो लिङ्गीकै रुपमा पाउनुपर्ने माग थियो । त्यो माग पूरा भएको छ ।’ नगरिकता, राहदानी प्राप्ति पछिको उनको नयाँ माग भनेको समलिङ्गीले विवाह गर्न पाउने हो । उनी अगाडि थप्छिन् ‘अब हामीले समलिङ्गी विवाह गर्न पाउनुपर्छ भन्ने माग छ । त्यो माग कार्यन्वयन गराउन लागि पर्ने छु ।’
मनोज थिए्, यसरी बनिन् मोनिका जब उमेर बढ्दै गयो, उनको व्यवहार रुपमा तालमेल मिलेन् । केटीको लुगा लगाउन मन लाग्थ्यो । तर, उनी केटा थिए । मनोज भनेर सबैले बोलाउँथे । अरुले मनोज नै भने पनि उनी जवान केटा देख्दा केटासँगै आर्कषित हुन्थिन् । समाजलाई छलेर केटासँग प्रेम भएको ब्यक्त गर्न सक्दिनन् थिइन् । साथीभाइ उनलाई हेप्थे । बचन लाउंथे । उनी बाध्य भएर सहन्थिन् । साथीहरुले जिस्काउँदा–जिस्काउँदै उनलाई आफ्नै परिवारकोले पनि जिस्काउन थाले । सबैले हिजडा भनेर जिस्काउँदा उनलाई आत्महत्या गरुझै हुन्थ्यो । उनकै कारणले उनको परिवारले पनि समाजबाट अपहेलित हुनुपरेको थियो । शुरुमा त उनलाई ‘म मात्रै किन यस्तो ?’ भन्ने लाग्थ्यो । मनमा कुरा खेलिरहन्थ्यो । कसैलाई भन्यो भने अपमानित भइएला भन्ने डर हुन्थ्यो । उनी घरपरिवार र समाजबाट नितान्त एक्लीजस्तै भइसकेकी थिइन् ।
यी हुन् अमेरिकामा मृत्यु भएका नेपालीहरु, मुख्य कारण हत्या, आत्महत्या र सवारी दुर्घटना
पछि उनले आफूजस्ता अरु हजारौंको संख्यामा हुन्छन भन्ने थाहा पाइन् । त्यो थाहापाएपछि उनलाई आफू तेस्रो लिङ्गी भएकोमा पीर लागेन् । उनी पिंजडाबाट मुक्त भएको चरी जस्तै भइन् । अब त उड्न सक्छु भन्ने आत्मविश्वास पैदा भयो । तेस्रो लिङ्गी भएकै कारण उनलाई विद्यालयमा पढ्नसमेत अफ्ठयारो भयो । केटा नाम भएपनि उनी केटी थिइन् । केटीसँगै बस्न चाहन्थिन् । तर, विद्यालय प्रशासनले केटासँग बसाउँथ्यो । त्यही कारणले उनी साथीभाइको बीचमा मजाकको पात्र बनिरहिन् ।
तेस्रो लिङ्गीहरुको पक्षमा काम गर्ने सस्था ब्लु डाइमण्ड सोसाइटी बारेमा उनले सुनेकी थिइन् । उनी त्यही सस्थाको सम्पर्कमा आइन् । त्यहाँ उनले आफ्रजस्तै धेरैलाई भेटिन् । पहिचान लुकाएर लुक्दैन भन्ने साहास बटुलिन् । तेस्रो लिङ्गी हुनु कुनै रोग होइन, प्राकृतिक कुरा हो भन्ने वैज्ञानिक आधार बुझन पाइन् । आफ्नै पहिचानका आधारमा नागरिकता लिन पाइने जानकारीसमेत पाइन् । उमेर पुगेपछि नागरिता लिन जिल्ला प्रशाशन कार्यलय पुगिन् । नागरिकताको फममा तेस्रो लिङगी भनेर लेखिदिइन् । उनको आवेदन कार्यालयका लागि असमान्य बनिदियो । कुरा प्रमुख जिल्ला अधिकारीकोसम्म पुग्यो । प्रजिअले तेस्रो लिङ्गीको प्रमाण प्रस्तुत गर्न भने ।
मालपोत कार्यालयः घुस नदिइ काम गराउँछु भनेर नचिताए पनि हुन्छ
उनकै सामु प्रजिअले कतिको नागरिकता प्रमाणित गरे । तर, कसैलाई लिङ्गको प्रमाण देखाउन भनेनन् । उनले राज्यबाटै विभेदको महशुश गरिन् । तर, हरेश खाइनन् । उनले ‘मेरो लिङ्गको बारेमा मभन्दा ठूलो प्रमाण के हुन्छ ?’ भन्ने प्रश्न प्रशासन समक्ष तेस्र्याइन् । उनको कारणले कार्यालयमा बहश नै चल्यो । अन्ततः उनले तेस्रो लिङ्गीका रुपमा नागरिकता पाइन् । झमेला गरेर भएपनि उनको नागरिकता बन्यो । अब राहदानी बनाउनुपर्ने भयो । राहदानी बनाउँदा उस्तै झण्झट । हरेक ठाउँमा स्पष्टिकरण दिनुपर्ने । प्रशासनले नागरिकता दिएपनि परराष्ट्र मन्त्रालयको राहदानी विभागले थप प्रमाण खोज्थ्यो । कर्मचारीहरुको आँखा ‘तेस्रो लिङ्गी’ लेखेको ठाउँमा पुग्दा बित्तिकै अर्कै भावमा प्रस्तुत हुन्थे । धेरै प्रयासपछि उनले राहदानी पाउने भइन् । जेण्डरमा लेखियोः ओ । अर्थात अदर । महिला पनि होइन, पुरुषपनि होइन । ऊ अन्य हो । अन्य हुनुपनि पहिचान हो । ओ को राहदानी पाउँने उनी पहिलो नेपाली हुन् । पहिलो हुँदाको खुशी जति छ त्यसका लागि संर्घष गर्दाको पीडा उति नै । उनीपछि ओ राहधानी पाउने धेरै भइसके । उनले बाटो खोलिदिएपछि अरुका लागि हिड्न सजिलो भएको छ । अहिले तेस्रो लिङ्गीको कानुन बनेको छ । आफूहरुको संर्घषका कारण तेस्रो लिङ्गीमैत्री संविधान र कानुन बनेकोमा मोनिकालाई गर्व लाग्छ । अधिकार पाउन संर्घष गर्नुपर्दोरहेछ । उनको अनुभव यसै भन्छ । ‘धेरैका लागि प्रेरणाको स्रोत बन्न सफल भएकोमा गर्व लाग्छ ।’ उनले सुनाइन् ।
मोनिका बन्न मनोजले झेलेको महाभारत
मोनिकाको बुवाआमा छैनन् । २० वर्षअधि बुवा र १० वर्षअघि उनको बुवाआमा बिते । बुबाआमा जीवनको उत्तराद्र्धमा रहँदा मोनिका पहिचानका लागि संर्घष गर्दै थिइन् । ४० वर्ष पुगेकी उनी अहिलेपनि संर्घषको मैदानमा छिन् । भन्छिन्– ‘म प्रधानमन्त्री भएरै छाड्छु । हामी जस्तो तेस्रो लिङ्गी राष्ट्रप्रमुख हुनु कुनै नौलौ कुरो होइन, किनकि हामीसँग पनि क्षमता छ ।’
- सागर बुढाथाेकी
monika shahi तेस्रो लिङ्गी माेनिका शाही राप्रपा