फुड

मूल्यमा कमी आएपछि किसान मारमा

मूल्यमा कमी आएपछि किसान मारमा
फागुन - १० । बजारमा तरकारीको मूल्यमा कमी आएपछि काभ्रे नालाका किसान मारमा परेका छन् । व्यापारीले गत साता प्रतिकिलो १२ मा मुला किन्ने गरेका थिए, मङ्गलबार बजारमा पुग्दा प्रतिकिलो ९ मात्रदिएको टुकुचा नाला– ८ का गङ्गा घिमिरेले बताए । उनी आफूले उत्पादन गरेको तरकारी दैनिक उग्रचण्डी कृषि बजारमा ल्याएर बिक्री गर्छन् । ‘दुई घन्टा हिँडेर तरकारी बिक्री गर्न आउँछु, तर व्यापारीले उचित मूल्य दिँदैनन,’ उनले भने । व्यापारीले मनोमानी रुपमा तरकारीको मूल्य तोक्ने गरेको घिमिरेको आरोप छ । टुकुचा नालामा सबैभन्दा बढी मुला उत्पादन हुन्छ । विगत वर्षमा जस्तो किसानले तरकारीको मूल्य पाउन सकेका छैनन् । उचित मूल्य नपाउँदा तरकारीमा मेहनत गर्न छाडेको स्थानीयवासी भवानी घिमिरे बताउँछन् । एक्कासि तरकारीको मूल्यमा कमी आएको हो । गङ्गा र भवानी जस्तै यहाँका अन्य किसान तरकारीको उचित मूल्य नपाएपछि मारमा परेका छन् । ‘प्रमुख आयस्रोत नै तरकारी खेती हो, उचित मूल्य नपाउँदा खर्च धान्न मुस्किल भएको छ,’ उग्रचण्डी नाला– ७ का सीताराम दाहालले भने । कालीमाटी बजारमै तरकारीको मूल्यमा कमी आएपछि त्यसको मार किसानलाई परेको उग्रचण्डी कृषि बजारका व्यापारी जितेन्द्रप्रसाद गुप्ताले बताए । उग्रचण्डी तरकारी बजारमा दैनिक उग्रचण्डी नाला, टुकुचा नाला, देवीटार, नयाँगाउँ, देउपुर गाविसलगायतका किसान तरकारी बिक्री गर्न आउने गरेका छन् । उक्त बजारमा हाल मुलाको खरिद मूल्य प्रतिकिलो ८ देखि १०, काउली १० देखि १२ तथा मटरकोसाको ४४ देखि ४६ सम्म रहेको छ । गत वर्षभन्दा सस्तोमा तरकारी बिक्री भइरहेको छ ।

तरकारी

विशेष