फुड

कास्कीमा ट्राउट माछा माग बढ्याे 

कास्कीमा ट्राउट माछा माग बढ्याे 
फागुन - १० कास्कीमा ट्राउट माछाको माग अत्यधिक बढेको छ।  जिल्लामा पाँचवटा व्यावसायिक फार्मले वार्षिक ६० मेट्रिक टन उत्पादन गर्दै आएका छन्। उत्पादन भन्दा माग दोब्बर भएको जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत डा प्रभात न्यौपानेले जानकारी दिए। यहाँ उत्पादन भएको ट्राउट माछा १५ टनदेखि २० टन काठमाडौँ पठाइन्छ भने बाँकी स्थानीय बजारमै खपत हुन्छ । सुकुटी बनाएर अमेरिका, जापान, अस्ट्रेलियालगायत मुलुकमा समेत पठाउने गरिएको न्यौपाने बताउँछन्। सार्दीखोला गाविसमा सञ्चालित क्षेत्रदीप अन्नपूर्ण ट्राउट माछा अनुसन्धान तथा विकास प्रालिले वार्षिक २६ टनदेखि ३० टनसम्म उत्पादन गर्दै आएको प्रालिका अध्यक्ष इन्द्र गौचनले बताए। उनले करिब दुई करोडको ट्राउट माछा बिक्री गर्दै आएका छन्। “हालसम्म चार करोड लगानी भइसकेको छ,” उनले भने। अघिल्ला वर्षमा सिन्धुपाल्चोक र नुवाकोटबाट भुरा ल्याउने गरेकामा यस वर्षदेखि प्रालिले भुरा उत्पादन सुरु गरेको छ। यस वर्ष साढे चार लाख भुरा उत्पादन गरेको र करिब एक लाख भुरा बिक्री गरेको गौचनले बताए। कास्कीकै गण्डकी ट्राउट फार्म, माछापुच्छ्रे कृषि केन्द्र, मर्दीखोलाका दुई ट्राउट माछा फार्मले ट्राउट माछा उत्पादन गर्दै आएका छन्।

ट्राउट माछा

विशेष