समाज

पाल्पा महोत्सवको तयारी पूरा

पाल्पा महोत्सवको तयारी पूरा
फागुन–११ । पाल्पा जिल्लाकाे सदरमुकाम तानसेनमा आयोजना हुने पाल्पा महोत्सवको तयारी पूरा भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा हुने ११ औं संस्करणको सो महोत्सवको दुई लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने र करिब रु आठ करोड बराबरको कारोबारको लक्ष्य रहेको आयोजक समितिका संयोजक मोहनप्रसाद श्रेष्ठले जानकारी दिए । महोत्सवको आम्दानीबाट संस्थाको बहुउद्देश्यीय भवन निर्माण तथा जिल्लाको विकास निर्माणमा गरिने छ । महोत्सवबाट करिब ७० लाख आम्दानी हुने अनुमान गरिएको छ । संघको बहुउद्देश्यीय भवन निर्माणका लागि ४० प्रतिशत, सचिवालय व्यवस्थापनमा ३०, पर्यटन प्रवद्र्धनमा १५, स्वर्ण महोत्सवका लागि १० तथा टुँडिखेलको स्तरोन्नतिका लागि ५ प्रतिशत खर्च गरिने समितिका प्रचारप्रसार उपसमितिका संयोजक शैलेन्द्र भट्टराईले बताए । महोत्सवमा चार सय ६३ कक्ष रहने छन् । महोत्सवको मुख्य आकर्षणको रुपमा कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक, राउटेद्वारा निर्मित सामाग्री्रको प्रदर्शनी, फोटो प्रदर्शनी तथा कृषिजन्य सामाग्रीको प्रदर्शनी रहनेछ । नेपाल उद्योग वाणिज्य महासङ्घ, सह–आयोजक जिल्ला विकास समिति, तानसेन नगरपालिका, जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि उद्यम केन्द्र र नेपाल पर्यटन बोर्ड रहेका छन् । महोत्सवमा जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सव फागुन १२ गतदेखि २२ गतेसम्म सदरमुकाम तानसेनमा आयोजना हुने छ ।

तयारी पाल्पा महोत्सव

विशेष