समाज

गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क उपचार गर्ने

गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क उपचार गर्ने
फागुन–११ । विराटनगरस्थित गोल्डेन अस्पतालले आफ्नो छैंँठौँ वार्षिकोत्सवको अवसरमा न्युरो सर्जरीकालागि बढीमा ४० हजार रुपैयाँसम्म लिने घोषणा गरेको छ । जस्तोसुकै गम्भीर प्रकृतिको न्युरो सर्जरी गर्नुपर्ने भए पनि सोभन्दा बढी रकम नलिने अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियारले बताए । यसैगरी जिल्लाका पत्रकारको उपचार पनि निःशुल्क गर्ने तर शल्यक्रिया गर्दा चिकित्सकलाई तिर्नुपर्ने रकम मात्र लिने उनले जानकारी दिए । वार्षिकोत्सवमा अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियारले यस वर्षका उत्कृष्ट कर्मचारीको रुपमा मोहम्मद नाजिमलाई पुरस्कृत गर्नुका साथै अन्य सात कर्मचारीलाई पनि सम्मान गरे । अस्पताल सञ्चालक समितिका अध्यक्ष दुलारचन्द रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा डा शिव अधिकारी, डा मनोजकुमार श्रीवास्तव, गौतमराज प्रधान, गोविन्दप्रसाद लुइँटेललगायतले अस्पतालले प्रदान गरेको सेवाबारे चर्चा गरेका थिए। रासस

गोल्डेन अस्पताल निःशुल्क उपचार पत्रकार विराटनगर

विशेष