समाज

काम गर्न भारत गएका सुदुरपश्चिमका १ सय ६५ जना बेपत्ता

काम गर्न भारत गएका सुदुरपश्चिमका १ सय ६५ जना बेपत्ता

फागुन १२ । वेदकोट नगरपालिका ९– हजाराका ७० वर्षीय भानचन्द्र भट्टका चार छोरा छन् । चार छोरा मध्ये जेठो छोरा गणेश भट्ट २२ वर्षको उमेरमा रोजगारीका लागि २०५० सालतिर भारतको दिल्ली गए । दुई दशक भन्दा बढी समय बितिसक्दा पनि गणेश न घर फर्के, न सम्पर्कमा आए । भट्टकै माइला छोरा धर्म पनि २० वर्षको उमेरमा २०६४ सालमा रोजगारीका लागि भन्दै भारतको दिल्ली गए ।

उनी पनि आफ्ना जेठा दाइजस्तै न सम्पर्कमा आए न घर आए । भानचन्द्रका माइला छोरा पनि सम्पर्क बिहिन भएको झण्डै दशक वित्न लाग्यो । भट्टको जस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरकी ६० वर्षीय जमुनादेवी दमाईको छोरा सुनिल दमाई पनि भारतको दिल्ली रोजगारीमा गएको झण्डै एक दशक पुग्यो । सुनिल आजसम्म घर परिवारको सम्पर्कमा छैनन् ।

दृष्ट्रिबिहीन जमुनाले २०६३ सालतिर १९ वर्षको उमेरमा सुनिल रोजगारीका लागि भारत गएको बताइन् । ‘होटलमा काम गथ्र्यो भनेर सुनेको थिए, ‘उनले भनिन, ‘तर गएदेखि आजसम्म घर आएको छैन न त फोन गरेको छ ।’ जमुनाको बुढेसकालको साहरा सुनिल यतिबेला बेपत्ता भएपछि उनको बेहाल भएको छ । जमुना दमाई र भानदेव भट्टको जस्तै सुदूरपश्चिमका तीन जिल्लाका एक सय ६५ जना अभिभावकको पीडा उस्तै छ । निड्स नेपाल कञ्चनपुरले कामका लागि भारत गएर हराएका व्यक्तिहरुका परिवारसँग भेट गरी तथ्याङ्क संकलन गरेको छ ।

निड्स नेपाल कञ्चनपुरले सुरक्षित आप्रवासन तथा मानव बेचबिखन रोकथान परियोजना संचालन गरेर अछाम, डोटी र कञ्चनपुरका तीन जिल्लाका व्यक्तिहरुको तथ्याङ्क संकलन गरेको हो । सुदूरपश्चिमका तीन जिल्लाबाट यसरी एक सय ६५ जना मात्रै हराएको तथ्याङ्क बाहिर आएपनि ९ वटै जिल्लाबाट हजार भन्दा बढि मानिस हराएको अनुमान गरिएको छ । सरकारले समेत कामका लागि भारत जानेको रेकर्ड नराख्दा हराएका व्यक्तिको संख्या यकिन भएको छैन ।

एक सय ५७ पुरुष र ८ महिला हराए निड्स नेपाल कञ्चनपुरले सुरक्षित आप्रवासन तथा मानव बेचबिखन रोकथान परियोजनाका प्रमुख प्रकाशचन्द्र मडैले कञ्चनपुरको दुई नगरपालिका वेदकोट र भीमदत्त, अछामको साफेबगर र डोटीका १२ गाविसका भारत गएर लामो समयदेखि सम्पर्कमा नआएका व्यक्तिहरुका परिवारसँग प्रत्यक्ष अध्ययन गरेर प्रतिवेदन तयार पारिएको बताए । उनका अनुसार अछामका ३१, डोटीका १०६ र कञ्चनपुरका २८ जना कामदार अझैसम्म फेला परेका छैनन् ।

२०४९ भन्दा अघि २२, २०५० देखि २०६० भित्र ४४, २०६० देखि २०७० सम्म ६७ र २०७० यता ३२ जना भारत गएर सम्पर्कविहीन भएका छन् । हराएका मध्ये ९८ जना विवाहित छन, भने ५५ जना अविवाहित र ९ जनाको विवाहको अवस्थाबारे खुल्न सकेको छैन ।

प्रतिवेदनमा सबैभन्दा बढी मुम्बईबाट हराएका छन् । मुम्बईबाट ३०, दिल्लीबाट १८, गुजरात, पुना र पञ्जावबाट ५्५, देहरादुनबाट ३, मद्रासबाट ४, मधुरा ६, बरेली ४ र अन्य विभिन्न शहरबाट हराएका छन् । घरको कमाउने मुली हराउँदा आश्रितहरूको अवस्था दयनीय बन्दै गएको समेत मडैले बताए ।

नयाँ पत्रिका

Bepata

विशेष