समाज

शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा सुधार

शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा सुधार
फागुन–१२ । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोगले शिक्षण सिकाइ कार्य प्रभावकारी बन्दै गएको छ । कक्षाकोठामा पाठअनुसार शिक्षकले दिनहुँ प्रयोग गर्ने शैक्षिक सामग्रीले शिक्षाको गुणस्तरमा वृद्धि ल्याएको छ । हिजोआज धेरैजसो विद्यालयमा शैक्षिक सामग्रीलाई अनिवार्य रुपमा कक्षाकोठामा प्रयोग गर्न थालिएपछि रुचिपूर्वक विद्यार्थीले सिकाइ सिक्ने गरेको पाइएको छ । जिल्लाको पूर्वी भेगका रामपुर र गाडाँकोट स्रोतकेन्द्रका विद्यालयमा अनिवार्य रुपमा कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोग हुँदै आएको छ । शैक्षिक सामग्रीकै प्रयोगले यहाँका विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार भएको स्थानीय शिक्षक बताउँछन् । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर पठनपाठन गराउन थालेपछि विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धिमा सुधार भएको रामतुल्सी माध्यमिक विद्यालयका शिक्षक लेखनाथ शर्मा मरासिनीले बताए । शैक्षिक सामग्री देखाउँदै अध्यापन गराउँदा विद्यार्थीलाई सिकाउन र बुझाउन पनि सजिलो हुने गरेको पनि उनले बताए । पाठअनुसार आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्रीको प्रयोग गर्दै शिक्षकले सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा अध्यापन गराउँदा पढाइमा उत्प्रेरणा जाग्दै गएको रामतुल्सी मावि कक्षा ९ मा अध्ययनरत छात्रा अस्मिता पाण्डे बताउँछिन् । कक्षाकोठामा सबैले देख्ने ठाउँको भित्तामा पाठ प्रसङ्गअनुसार शैक्षिक सामग्री राखेर शिक्षण गरिँदै आएको दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा बताउँछन् । आवश्यक परेमा शिक्षक र विद्यार्थी मिलेर आफैं पनि शैक्षिक सामग्री निर्माण गरी शिक्षण कार्य गर्दै आएको उनले बताए । कक्षाकोठामा शैक्षिक सामग्री प्रयोगमा ल्याइएपछि यस क्षेत्रका विद्यालयमा विद्यार्थीको वार्षिक सिकाइ उपलब्धिमा सुधार हुँदै गएको गाडाँकोट स्रोतकेन्द्रका स्रोतव्यक्ति शेषकान्त भट्टराई बताउँछन् । रासस

प्रयोग शैक्षिक सामग्री सिकाइ

विशेष