छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बहिरा अावसीय विद्यालयलार्इ
फागुन–१२ । बाग्लुङमा भएकाे छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धवलागिरि बहिरा आवसीय विद्यालयले जितेको छ । जिल्लाका ६६ विद्यालय सम्मिलित जिल्लास्तरीय प्रतियोगितामा पाँच स्वर्ण पदकसहित ११५ अङ्क प्राप्त गरी सो विद्यालयले उपाधि चुमेको हो ।
‘रनिङ शिल्ड’ सँगै विद्यालयले ५५ हजार ५ सय ५५ रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । तीनवटा निर्वाचन क्षेत्रमा भएका क्षेत्रीय छनोट प्रतियोगिताबाट छानिएर आएका एक हजार ३३८ प्रतिस्पर्धी विद्यार्थीलाई उछिन्दै बहिरा विद्यार्थीले उत्कृष्ट खेल प्रदर्शन गरेका हुन् । उक्त विद्यालयले युवा तथा खेलकुद मन्त्रालयबाट ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्सलगायत १५ विधामा भएको प्रतियोगितामा ११२ अङ्कका साथ कालिका कन्या माध्यमिक विद्यालय दोस्रो र बलेवा नारायणस्थानको जनताधन माध्यमिक विद्यालयले ९५ अङ्कका साथ तेस्रो स्थान प्राप्त गरेको समितिका सदस्य सचिव भीमसेन शाक्यले जानकारी दिए । दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । जिल्लाबाट छनोट भएका खेलाडीले अब पश्चिमाञ्चल क्षेत्रीयस्तरको छनोट खेलमा सहभागिता जनाउने छन् ।
एकल विधामा पहिलो हुने खेलाडीले सोझै क्षेत्रीय प्रतियोगितामा भाग लिन पाउनेछन् । बाङ्गेचौर खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा खेलाडीले कुल २२२ पदकको लागि प्रतिस्पर्धा गरेका थिए । रासस
उपाधि
छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
धवलागिरि बहिरा आवसीय विद्यालय