निकुञ्ज विस्थापित र प्रहरीबीच झडप
फागुन–१२ । आन्दोलनरत कञ्चनपुरका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित र प्रहरीबीच झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर बजारमा झडप भएको छ ।
बिहीबार बिहान १० देखि ५ बजेसम्मका लागि अवरुद्ध पारेको पूर्व–पश्चिम राजमार्गको कलुवापुर खण्ड खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।
झडपले उग्र रुप लिनथालेपछि शान्ति सुव्यवस्था कायम राख्न प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । शुक्लाफाँटा निकुञ्ज जग्गा अधिग्रहण र मुआब्जा उपलब्ध गराउन गठित कार्यदलले काम सुरु गरेसँगै विस्थापितहरु झन्डै दुई सातायता आन्दोलनमा छन् । २०५८ मा निकुञ्ज विस्तारका क्रममा जग्गाको प्रमाण पुर्जा भएकालाई सरकारले प्रतिपरिवार १० कट्ठा जग्गा उपलब्ध गराएको थियो । अद्यावधिक तथ्याङ्क फाराम भर्न कार्यदलको सम्पर्क कार्यालय भीमदत्तनगरमा स्थापना गरिएको छ ।
कार्यदलले अद्यावधिकका लागि विस्थापितलाई फागुन १ देखि आगामी वैशाख २ गतेसम्मका लागि समयसीमा तोकेको छ । तर विस्थापितहरु मुआब्जा र राहत रकमप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका छन् । रासस
झडप
विस्थापित र प्रहरी
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज