समाज

बाबुआमालाई आफ्नो आम्दानीको दश प्रतिशत छुट्याउनुपर्ने प्रावधान हुँदै 

बाबुआमालाई आफ्नो आम्दानीको दश प्रतिशत छुट्याउनुपर्ने प्रावधान हुँदै 
फागुन–१२ । बिहीबारकाे बैठकमा मन्त्री कुमार खड्काले ज्येष्ठ नागरिक ऐन संशोधनको अन्तिम चरणमा रहेको जानकारी दिँदै यसले जन्मदिने बाबुआमालाई वृद्धाश्रममा पुर्याउने प्रवृत्तिलाई अन्त्य गर्ने बताए । बाबुआमालाई तिनका सन्तानले आफ्नो आयको कम्तीमा दश प्रतिशत छुट्याउनुपर्ने र बाबुआमाले पनि आफ्ना सन्तानलाई आफ्नो शतप्रतिशत अंश दिन नपाउने गरी सो ऐन संशोधन हुन लागेको छ । हाल मन्त्रालयले वृद्धाश्रम अतिरिक्त वृद्धवृद्धाका लागि प्रमुख सहरमा ४९० वटा दिवा हेरचाह केन्द्र सञ्चालनमा ल्याएको छ । यस्ता केन्द्रमा अन्तरपुस्ता सम्बन्धलाई बलियो बनाउन ज्ञानगुन आदानप्रदान हुने गरेको मन्त्रालयले जनाएको छ । लैङ्गिक हिंसा निवारण कोष सञ्चालन नियमावलीलाई परिवर्तन गर्न लागेको मन्त्री खड्काले बैठकमा जानकारी दिए। हिंसामा परेका महिलाको उद्धार, राहत तथा उपचारका लागि सम्बन्धित जिल्लाका महिला विकास अधिकृतले २० हजार र मन्त्रालयले ५० हजार रुपैयाँ दिन सक्ने प्रावधानलाई संशोधन गर्न लागिएको हो । बैठकमा मन्त्री खड्काले समाजकल्याण ऐन, बालबालिका ऐन तथा ज्येष्ठ नागरिक ऐनसमेत संशोधनको तयारी भइराखेको जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको लक्षित वर्गको खर्चभन्दा प्रशासनिक खर्च बढी हुने प्रवृत्तिलाई अन्त्य गर्न समाजकल्याण ऐन संशोधन हुन लागेको हो । बैठकमा सांसदहरु रत्नादेवी गुरुङ, दिनेशचन्द्र यादव, टिएल चौधरी, रञ्जना श्रेष्ठ र अनुराधा थापाले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याणको बजेट वृद्धि गर्न माग गरेका थिए। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले समितिले सरकारलाई दिएका निर्देशनलाई कार्यान्वयन गर्न आग्रह गरेकी थिइन् ।

आम्दानी प्रावधान

विशेष