आज महाशिवरात्रिः पशुपतिमा सशुल्क दर्शन खारेज, चारै ढोका खुलिसक्यो, २५ मिनेटमा दर्शन गर्न सकिने
फागुन–१३ । हिन्दुहरुको महान् धार्मिक पर्व महाशिवरात्री धार्मिक विधिका साथ उत्साहपूर्वक मनाइँदैछ । मुलुकभरका शिवालयहरुमा आज दर्शनार्थीहरुको विशेष भिड हुने गर्दछ । काठमाडौंस्थित भगवान पशुपतिनाथको मन्दिरमा पनि दर्शनार्थीहरुको भिड बिहान साढे दुई बजेदेखि नै छ । शुक्रबार बिहान साढे तीन बजेदेखि पशुपतिनाथका तीन ढोका खुला गरिएको छ ।
उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
यस पटकदेखि पशुपति विकास कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेका छ । सशुल्क दर्शनको व्यवस्था हुँदा कोषले गत वर्ष ३५ लाख रुपैयाँ आय गरेको थियो ।
‘बिहानी समयमा २० देखि २५ मिनेटमा दर्शन गरी फर्कन सकिने गरि व्यवस्था मिलाइएको छ । बिहान साढे सात बजेपछि पशुपतिको पूर्वी ढोका पनि खुला गरिएको छ ।
महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र ४ सय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
महाशिवरात्रिका अवसरमा पशुपति आउने नागाबाबा, साधुसन्त एवम् महात्माका लागि कोष र गुठी संस्थानले फागुन ११ गतेदेखि नै पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेका छन् ।