प्रधानमन्त्रीलाई युवाहरुले मास्क उपहार दिने
फागुन १३ । माइतीघरको बाटो हुँदै जाँदा बिहीबार पनि केही विद्यार्थीको जमघट देखियो । त्यसो त माइतीघरमा प्रायःजसो राजनीतिक गतिविधि हुने नै गर्छ । शान्तिको लागि मैनबत्ती बाल्ने कामदेखि नाराबाजी, विरोधसभा आदि पनि हुने गर्छ । बिहीबार पनि त्यँहा त्यस्तै जमघट देखियो । केही युवाहरु मुखमा ‘लेट मी ब्रेथ’ लेखिएको मास्क लगाएर हातमा पर्चासहित बसेका थिए ।
अहिले काठमाडौंको प्रदूषण उल्लेख्य मात्रामा बढेको छ । धूवाँ धुलोको बढ्दो मात्राले काठमाडौंबासी नराम्ररी प्रभावित भएका छन् । त्यसमाथि पनि बाइक या स्कुटरमा हिड्नेको त के कुरा । मेलम्चीको पाइप जडान गर्न जताततै बाटो भत्काइएकाले धुलो धेरै छ ।
बिहीबार सयौँ युवा तथा आम नागरिकको सहभागितामा ‘लेट मी ब्रेथ’ अथवा मलाई सास फेर्न देउ नाम गरेको अभियान सम्पन्न भयो । यो अभियान समाप्त भइ नै सकेको भने छैन । आम नागरिकको साथ पाएमा यो अभियान जारी नै रहन्छ ।
अभियानको मुख्य नारा प्रदुषणमुक्त वातावरणको सिर्जना गर्ने थियो । प्रदुषण र धुलोको अन्त्य गर्नका लागि यो युवाहरुको एक सशक्त प्रयास थियो । उनीहरुको आवाजमा उही राजनीतिप्रतिको तीव्र असन्तुष्टि थियो । कोही भन्थे, भारतका प्रधानमन्त्री आउने हो भने यो बाटो तुरुन्तै धुलोमुक्त हुन्छ तर हामी नागरिकलाई किन यति धेरै हेला ?
अभियानको रोचक काम त के छ भने, सहभागी भएका नागरिकले कपडाको ठूलो माक्र्स बनाएर त्यसमा हस्ताक्षर राखेर सरकाराई बुझाउनेछन् । काठमाडौंको यस्तै प्रदुषण सम्बन्धी समस्यालाई रोक लगाउन बिहीबारदेखि कलेज र संस्थाका सयौँ विद्यार्थी अभियानमा उत्रेका छन् । काठमाडौंको माइतीघरमा मात्र नभइर यो अभियान काठमाडौंका विभिन्न ठाउँमा भएको थियो ।