शेख कमल कप फुटबलमा मनाङको बराबरी खेल
फागुन–१३ । बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबलको तेस्रो खेलमा मनाङ मस्र्याङदी बराबरीमा राेकिएकाे छ । मनाङले शुक्रबार भएको खेलमा घरेलु टोली चटगाउँ अवहानी क्लबसँग २-२काे बराबरी खेलेकाे हो ।
खेलको तेस्रो मिनेटमै गोल गर्दै आफिज ओलावलेले मनाङलाई सुरुवाति अग्रता दिलाए । त्यसपछि २२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ओलावालेले टोलीलाई २–० को अग्रता दिलाए ।
चटगाउँको लागि नसिन उडिन चाउधुरीले ३२ औं मिनेटमा एक गोल फर्काए । त्यस्तै अगस्तीन वाल्सनले ६३ औँ मिनेटमा पाएको पेनाल्टीको सदूपयोग गर्दै टोलीलाई बराबरी गोल गरे । म्यान अफ् दि म्याच बनेका मनाङका अाफिज अाेलावाले ५०० अमेरिकी डलर पुरस्कार स्वरुप पाएका छन् ।
मनाङले समूह चरणको पहिलो खेलमा मोहमोदेन स्पोर्टिङ क्लबलाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानको शाहिन आस्मयीसँग ३–१ ले पराजित भएको थियो ।
मनाङले सेमिफाइनलका लागि भने बंगलादेशको मोहमोदेन स्पोटिङ क्लब र अफगानिस्तानको शाहिन आस्मयीबिच हुने खेलको नतिजा पर्खनुपर्ने हुन्छ । खेल शुक्रबार बेलुका नै हुनेछ । खेलमा मोहमोदेन विजयी भए मनाङ सेमिफाइनल पुग्ने छ ।
प्रतियोगितामा बंगलादेशको ३ टिम, नेपाल, अफगानिस्तान, दक्षिण कोरिया, मालदिभ्स र किर्गिस्तानको १–१ टिम सहभागि छन् । दुई समूहमा रहेका सहभागी क्लब मध्येबाट दुई–दुई शीर्ष टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
मनाङ
शेख कमल कप फुटबल