देश

बैतडी हुलाक कार्यालय पुनःनिर्माणको अभावमा जीर्ण

बैतडी हुलाक कार्यालय पुनःनिर्माणको अभावमा जीर्ण
फागुन - १३ । बैतडी जिल्लाको तल्लो स्वराड मेलौलीस्थित इलाका हुलाक कार्यालय मर्मतसम्भार तथा पुनःनिर्माणको अभावमा जीर्ण भएको छ। पच्चीस वर्ष पुरानो तीन कोठे उक्त कार्यालयको वर्षौसम्म मर्मतसम्भार तथा पुनःनिर्माण हुन नसक्दा जीर्ण भएर सेवा प्रवाहमासमेत समस्या भएको छ। विसं २०४८ मा निर्माण गरेको उक्त भवन मर्मत सम्भार हुन नसक्दा जीर्ण बन्दै गएको इलाका हुलाक कार्यालय केशरपुर मेलौलीका निमित्त कार्यालय प्रमुख रामसिंह विष्टले जानकारी दिए।  'पानी पर्दा चुहिन्छ, भवनको भित्तासमेत चर्किसकेको छ,' उनले भने 'पानी पर्‍यो भने छानामा तिर्पाल हालेर बस्नुपर्ने बाध्यता छ।' टिनले छाएको छानामा खिया लागेर प्वाल परेकाले पानी चुहिएर यहाँ रहेका कागजपत्र तथा चिठ्ठीपत्रसमेत भिज्ने गरेकोपनि उनले बताए। आर्थिक अभावका कारण भवनको मर्मत सम्भार गर्न सकिएको छैन। मर्मतका लागि आर्थिक सहयोग गरिदिन मेलौली गाविससँग अनुरोध गरेको निमित्त कार्यालय प्रमुख विष्टले बताए।  तल्लो स्वराडका १३ गाविस हेर्ने गरी हाल मेलौली र सर्मालीमा इलाका हुलाक कार्यालय रहेका छन् । मोबाइल फोनको प्रयोग बढेसँगै हुलाक सेवाको प्रयोगमा पनि कमि आएको छ । कुनै समय गोश्वारा हुलाक कार्यालयका कर्मचारीलाई घरघरमा चिठी पु¥याउन भ्याइनभ्याइ हुन्थ्यो । आजभोलि हुलाकमा व्यक्तिगत चिठी एकदमै कम आउँछन् । स्कुल, व्यापारिक क्षेत्र, वित्तीय संस्थाका चिठीमात्र हुलाकमा भेटिन्छन् । सञ्चारको अभिन्न अङ्ग बनेको हुलाकको व्यापकतालाई भने प्रविधिका नयाँ/नयाँ आविष्कारले खुम्च्याइएका छन् । हुलाकलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने घोषणा सरकारले गरेको भएपनि अदालतले पठाएको चिठीसमेत म्याद गुज्रिसकेपछि मात्रै पाउने गरेको सेवाग्राहीको गुनासो छ । यस्तै ढिलासुस्तीका कारण सेवाग्राही निजी क्षेत्रबाट सञ्चालित सेवातिर तानिन थालेका छन् । व्यक्तिगत चिठ्ठीपत्रमा निकै न्यून रहेको र सरकारी चिठ्ठीपत्र मात्रै आउने गरेका छन इलाका हुलाक कार्यालय मेलौलीका निमित्त कार्यालय प्रमुख विष्टले भने – 'व्यक्तिगत चिठ्ठीमा जीवन बिमाको मात्रै आउँछन्, सरकारी चिठ्ठीपत्रलाई मात्र हुलाक सेवा प्रयोग गर्ने गरिएको छ ।' एकजना मात्र कर्मचारीको भरमा इलाका हुलाक कार्यालय केशरपुर, मेलौलीमा हाल एकजना मात्र कर्मचारी रहेका छन् । खरिदार र हल्कारा गरी दुई जनाको दरबन्दी रहेको भए पनि हाल एकजना हल्कारा मात्रै रहेका छन् । कार्यालय प्रमुख धर्मराज उपाध्याय तीन महिना पहिला सरुवा भई गएपछि इलाका हुलाक कार्यालय प्रमुखविहीन भएको हो । बझाङ घर भएका उपाध्याय गाविस सचिव भएर गृह जिल्ला गएका हुन्।

Hulak

विशेष