मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु, दुई घाइते

फागुन–१४ । चितवनको भरतपुरस्थित बाइपास रोडमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
गएराति भरतपुरको आँपटारीबाट बाइपास रोड हुँदै केन्द्रीय बसपार्कतर्फ जाँदै गरेको ना २५ प ३८३९ नम्बरको मोटरसाइकलले भरतपुर–११ को बौद्धगुम्बा अगाडि पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
राति करिब ९ः३० बजेको समयमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर–११ बसेनीका ५४ वर्षीय वीरबहादुर विकको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर–१० का २० वर्षीय नरेन्द्र थापा र पछाडि बस्ने धादिङका १९ वर्षीय विक्रम तामाङ घाइते भएका छन् ।
उनीहरुको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस
ठक्कर
पैदल यात्री
मोटरसाइकल