समाज

बालविकास केन्द्रका शिक्षकहरु श्रृजनशिल हुनु पर्छ : जिशिअ सिंह

बालविकास केन्द्रका शिक्षकहरु श्रृजनशिल हुनु पर्छ : जिशिअ सिंह

फागुन १५ । बालविकास केन्द्रमा अध्यापन गरिरहेका शिक्षक, शिक्षिकाहरु निकै श्रृजनशिल हुनु पर्ने जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले वताएका छन् ।

बालबालीकाहरुको सम्वेग विकास गराउन बालविकास केन्द्रका शिक्षक, शिक्षिकाहरु श्रृजनशिल हुनु पर्नेमा जिल्ला शिक्षा अधिकारी सिंहले जोड दिएका छन् । बालबालिका पढ्नका लागि तयारी अबस्थामा पुर्याउन, ब्यक्तिगत सरसफाईमा बालबालीकाको बानी विकास गराउन बालविकास केन्द्रका शिक्षक, शिक्षिकामा निकै ठुलो जिम्मेवारी रहेको जिल्ला शिक्षा अधिकारी सिंहको भनाई रहेको छ ।

विभिन्न खेल, मनोरञ्जन र ध्वनी माध्यामवाट बालबालीकाहरुको बानी विकास गराउन शिक्षक, शिक्षिका निकै विवेकी, श्रृजनशिल र क्षमताबान हुनु पर्ने सिंहको तर्क छ । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा जिल्ला शिक्षा कार्यालय जाजरकोटको समन्वयमा सञ्चालित ५ दिने प्रारम्भिक साक्षरता र गणितिय सिप सिकाई तालिमको समापन कार्यक्रममा जिशिअ सिंहले यस्तो वताएका हुन् ।

परियोजना सञ्चालनमा रहेको जिल्लाका दशेरा, सुवानाउली, पजारु र झाप्रा गाविसका बालविकास केन्द्रवाट यो चरणमा २४ जना शिक्षक, शिक्षिकालाई ५ दिने प्रारम्भिक साक्षरता र गणितिय सिप सिकाई तालिम दिएको एकीकृत परियोजनाका प्रारम्भिक शिक्षा अफिसर पुष्पराज खतिवडाले जानकारी दिए ।

उनले उक्त ४ वटा गाविसमा ४९ वटा बालविकास केन्द्र रहेको वताए । उक्त तालिममा सक्रिय सहभागी भएको भन्दै सहभागीलाई हार्दिक धन्यवाद दिदै तालिमको समापन कार्यक्रममा सेभ द चिल्ड्रेन जिल्ला संयोजक मनोज सुनुवारले भने–“सेभ द चिल्ड्रेनले एकीकृत परियोजना मार्फत बालबालिकालाई केन्द्रमा भागमा राखेर प्रारम्भिक शिक्षा, जिविकोपार्जन तथा पोषण र बाल संरक्षणका क्षेत्रमा काम गरिरहेको छ ।

यस परियोजनाले दिएको ज्ञान तथा सिपलाई फिल्डमा निर्भिकता पुर्वक लागु गर्न बालविकास केन्द्रका शिक्षक, शिक्षिकालाई विनम्र अनुरोध गर्दछु ।” ६ वटा सिकाई कुना, ५ वटा गणितिय सिप र ५ वटा भाषिक सिपवाट बालविकास केन्द्रलाई अगाडी बढाउनु पर्ने श्रोत व्यक्ति कमलराज बस्नेतले वताए । एकीकृत परियोजनाले बालविकास केन्द्रका लागि प्रारम्भिक साक्षरता र गणितिय सिप सिकाई तालिम दिने गरेको मात्र नभएर बालबिकास केन्द्रको कक्षा ब्यबस्थापनमा पनि जोड दिएको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका अध्यक्ष रविन्द्र विक्रम शाहले वताए ।

केन्द्रलाई शैक्षिक सामाग्री दिनुको साथै कक्षा ब्यबस्थापनका लागि कार्पेट तथा कुसन दिने गरेको अध्यक्ष शाहले जानकारी दिए । तालिमको समापनमा सहभागीका तर्फवाट सुवानाउलीवाट देवीसरा थापा, झाप्रवाट निर्मला पुन, पजारुवाट भगवती सिंह र दशेरावाट शिलाकुमारी थापाले आ–आफ्नो भनाई राखेका थिए ।

Jajarkot

विशेष