देश

विपन्न वर्गको लागि सामुदायिक वन बरदानसावित

विपन्न वर्गको लागि सामुदायिक वन बरदानसावित
फागुन - १६ । म्याग्दीका दुर्गम गाउँ बस्तीमा रहेका सामुदायिक वन विपन्न वर्गको जीवनस्तर उकास्नका लागि बरदानसावित भएका छन्। वन पैदावारको प्रयोग र त्यसबाट प्राप्त आम्दानीलाई कोषको रुपमा जम्मा गर्न थालेपछि सामुदायिक वन उपभोक्ता समितिले ग्रामीण वित्तीय संस्थाका रूपमा लोकप्रियता कमाउँदै आएका हुन्। जिल्ला वन कार्यालयका अनुसार जिल्लामा गठन भएका २५७ वटा सामुदायिक वन उपभोक्ता समूहले एक करोड, ८० लाख २० हजार ५ सय ६० रुपैयाँको कोष खडा गरी विभिन्न क्षेत्रमा ऋण लगानी गरेका छन् । सामुदायिक वन समूहले यसवर्ष आफ्नो आम्दानीको ६० प्रतिशतभन्दा बढी एक करोड, तीन लाख ५९ हजार ९० सय रुपैयाँ न्यून ब्याजदरमा आफ्ना सदस्यलाई ऋण प्रवाह गरेको छ । गरिबलाई लक्षित सो कार्यक्रमअनुसार बाख्रापालन, टिमुरखेती, हलोजुवा कार्यक्रम, तरकारीको बीउ उत्पादन, भैंसीपालन, डेरी उद्योगलगायतका क्षेत्रमा ऋण लगानी गरेको सो कार्यालयले जनाएको छ । जिल्लाभरका सामुदायिक वन उपभोक्ता समितिले समाजमा आवश्यक सबै क्षेत्रमा आर्थिक सहयोग गर्ने गरेको बताइएको छ । वन उपभोक्ता समूहले आर्थिकस्तर हेरी वार्षिक ६ देखि १८ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । यसरी प्रवाह गरिएको ऋण लगानी ८० प्रतिशत सुरक्षित रहेको बगरफाँट सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । त्यसैगरी सामुदायिक वनले सामाजिक क्षेत्रमा पनि आफ्नो आम्दानीको ३० प्रतिशत खर्च गर्ने गरेको छ । यसवर्ष शिक्षा, स्वास्थ्य, बाटोलगायतका क्षेत्रमा रु २९ लाख ९९५ खर्च गरेका छन् । सामुदायिक वनबाट प्राप्त काठ, दाउरा, घाँस तथा जडीबुटी बिक्री गरेर कोष वृद्धि गर्ने गरेका छन् ।

म्याग्दी

विशेष