समाज

माध्यमिकी परिक्रमा आज महोत्तरीमा

माध्यमिकी परिक्रमा आज महोत्तरीमा
फागुन - १७ मिथिलाको महाकुम्भ मानिएको माध्यमिकी परिक्रमा मंगलबार बिहान महोत्तरी जिल्लाको मटिहानी आइपुगेको छ। शनिबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्निकुण्डका किशोरीजीको डोलाका साथ धार्मिक विधिअनुसार जानकी मन्दिर हुँदै धार्मिक झाँकी भजन कीर्तनसहित सुरु भएको परिक्रमा आइतबार सीमावर्ती भारतीय गाउँ कलानेश्वरमा सोमबार भारतकै गिरिजास्थानमा बास बस्दै आज तेस्रो दिन विश्रामका लागि महोत्तरीको मटिहानी आइपुगेको हो। परिक्रमाका समूहलाई मटिहानीवासी तथा महोत्तरी प्रशासनले पूजापाठ गरी स्वागत गरेका छन् ।मटिहानीमा माता सीताको विवाहका बेला मटकोर विधि भएको सम्झना सहित यहाँ परिक्रमाको तेस्रो पराव रहँदै आएको छ । परिक्रमा यात्रीका लागि मटिहानीस्थित लक्ष्मीनारायण मठले निःशुल्क भोजन, पानी, दाउरा, बिजुली र सय बिगाहाभन्दा ठूलो आँपको बगैँचामा परिक्रमा यात्रीको बासको व्यवस्था मिलाएको छ । परिक्रमाका सहभागी यसपछि क्रमशः महोत्तरीको सदरमुकाम जलेश्वरमा चौथो पराव, मडैमा पाँचौँ, धु्रवकुण्डमा छेटौं र कञ्चनवनमा सातौँ दिनको बास बसेर आठौं दिनको पराव पुनः धुनषा जिल्लाको पर्वतामा बस्ने छ। त्यसपछि धनुषाधाम, औरही, विशौल हुँदै पुनः भारतको कलानेश्वर र फागुन पूर्णिमाको दिन जनकपुर फर्कने छ ।परिक्रमामा सहभागीका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सहभागीको सुविधाका लागि १५ वटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राका लागि नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् ।मिथिला महात्म्यमा यी विश्रामस्थलका पौराणिक एवम् धार्मिक महत्वबारे चर्चा गरिएकाले यी स्थलप्रति भक्तजनको आस्था रहेको पाइन्छ । जस्मा १८औँ शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएकाले सहयात्रीले नेपालका १०७ एवम् भारतको २६ गरी १३३ किमी भूमिमा परिक्रमा (पैदलयात्रा) गर्ने परम्परा छ । यस परिक्रमामा भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, वैजनाथधामका साधुको उल्लेख्य रुपमा सहभागिता छ । मिथिला महात्म्यअनुसार अठारौँ शताब्दीदेखि माध्यमिकी परिक्रमा मनाइँदै आएको र यस धर्मयात्राका सहयात्रीले रात्रि भजन कीर्तन गरी १५ दिन बिताउने गर्छन् । विगतमा भएका पाप नास भएर मनोकामना पूरा हुने धार्मिक मान्यता अनुसार परिक्रमाका यात्रुहरु भारतको कलना, फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुँदै धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक-एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् र पूर्णिमा बिहान जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेलेर १५ दिवसीय यात्रा सम्पन्न गरिन्छ । फागुन शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने यो धर्मयात्रा सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शनगरे बराबरको फल प्राप्ति हुने विश्वास सहमागी यात्रुमा छ । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निर्माण गरिएका कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानी यो परिक्रमा यात्रा सुरु गरिएको हो । मिथिलाको महाकुम्भसमेत नामाकरण गरिएको यस परिक्रमा यात्रामा नेपाल र भारतका हजाराँै साधु, सन्त, महन्थ र गृहस्थको सहभागिता छ । रासस

माध्यमिकी परिक्रमा

विशेष