समाज

सानोठिमी क्याम्पस तनावग्रस्त, क्याम्पस प्रमुखको कार्यकक्षमा अागजनी

सानोठिमी क्याम्पस तनावग्रस्त, क्याम्पस प्रमुखको कार्यकक्षमा अागजनी
फागुन - १७ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सङ्घारमा भक्तपुरस्थित सानोठिमी क्याम्पस तनावग्रस्त बनेको छ । गए राति क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी भएको थियो । सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी ‘प्रचण्ड’ र नेविसङ्घले संयुक्त तथा एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारी विप्लवपक्षले संयुक्त समूह बनाएर उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारी ‘प्रचण्ड’ का महासचिव एवम् सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र बस्नेतले अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीले आफ्नो समूह हार्ने डरले क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको आरोप लगाए । यता अनेरास्ववियु र अखिल क्रान्तिकारी विप्लव पक्षले आजै पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गरी आगजनीबारे निष्पक्ष छानबिनको माग गरेका छन् ।पत्रकार सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय सदस्य श्यामसुन्दर बस्नेतले सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र बस्नेतको समूहले आगजनी गरेको जिकिर गरे । उनले भने–“रातभरि हाम्रो प्यानललाई क्याम्पसमा छिर्न दिइएको छैन, सरकार पक्ष क्रान्तिकारीका साथी क्याम्पसभित्र बसेको छ, चारैतिर प्रहरी तैनाथ भएकै बेलामा आगजनी भएको छ, प्रहरीले आगजनी गर्नेलाई पक्राउ नगरी मूकदर्शक भएको छ ।” अनेरास्ववियु र अखिल क्रान्तिकारी विप्लवपक्षलाई बदनाम गर्ने उद्देश्यले आगजनी भएको बताउँदै उनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गरेपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखे । अखिल क्रान्तिकारी विप्लव समूहका केन्द्रीय सदस्य एकराज डाँगीले भक्तपुरका प्रहरी प्रमुख किरण राणाको नेतृत्वमा क्याम्पसमा खटिएको टोलीले अनेरास्ववियु र अखिल क्रान्तिकारी विप्लवपक्षलाई क्याम्पसभित्र छिर्न समेत नदिएको आरोप लगाए । क्याम्पस प्रमुख घिमिरेले भने निर्वाचन नरोकिने बताए । क्याम्पसमा कुनै पनि बेला दुईपक्ष विद्यार्थीबीच झडप हुनसक्ने भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

Agjani

विशेष