देश

फौजदार घाट सिँचाइ आयोजनाको शिलान्यास

फौजदार घाट सिँचाइ आयोजनाको शिलान्यास
फागुन - १७ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले नेपाली जनताको बलिदान र सङ्घर्षबाट प्राप्त यो संविधान कार्यान्वयनको मार्गतर्फ बढिरहेको बताएका छन् । सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरद्वारा झापाको राजगढमा मझौला सिँचाइ आयोजनाअन्तर्गत फौजदार घाट सिँचाइ उपआयोजनाको आज शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री बुढाथोकीले वर्तमान संविधानबाट नेपाली जनताले धेरै अधिकार प्राप्त गरेको र यस्तो अधिकारबाट वञ्चित गराउने समूहलाई जनताले नै ठेकान लगाउने भन्दै स्थानीय निकायको निर्वाचनमा उत्साहका साथ सहभागी हुन सबैसँग आग्रह गरे । उनले जनताका थप अधिकार प्राप्त गर्न संविधान संशोधनको प्रस्ताव आएको र यसमा हाम्रो पार्टीले गरेको निर्णयमा अडिग रहनेमा जोड दिँदै संविधान क्रमागत रुपमा संशोधन एवम् सुधार हुँदै जाने पनि विश्वास व्यक्त गरे । मन्त्री बुढाथोकीले यातायात, सिँचाइ र बिजुलीको विकास एवम् विस्तारबाट नै मुलुक समृद्ध हुने भन्दै नवनिर्माण हुने योजनाले राजगढ क्षेत्रका जनतालाई ठूलो टेवा दिने विश्वास व्यक्त गरे । निर्माण भइरहेको योजना जनताको भएकाले यसको गुणस्तरमा स्थानीय जनताले चासो राख्नुपर्ने भन्दै उनले नवनिर्माण हुने योजना समयमै सम्पन्न र गुणस्तरमा ध्यान दिन निर्माण कम्पनी तथा सम्बन्धित कार्यालयको ध्यान जानुपर्ने बताए । सो अवसरमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीले अगामी २०७६ असार १२ गते सम्पन्न हुने यो योजनाबाट राजगढ–३, ५, ८ र ९ का ३४२ घरधुरीका दुई हजार ९५ जना जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए । उनले कुल १० करोड ६९ लाख ८२ हजार ५०८ लागतमा निर्माण गर्न आशीष स्वामी नारायण आशीर्वाद जेभीले ठेक्कामा लिएको बताए । यस योजनाबाट ६३० हेक्टर जग्गा सिँचाइ हुने मूल नहर छ किमीको यसको दुईवटा शाखा नहर हुने बताए ।

शिलान्यास

विशेष