देश स्वास्थ्य

जाजरकोटमा कृतिम अंग प्रत्यारोपण गर्नु पर्ने व्यक्तिहरुको पहिचान

जाजरकोटमा कृतिम अंग प्रत्यारोपण गर्नु पर्ने व्यक्तिहरुको पहिचान
फागुन - १६ । जिल्लाको दुई ठाउँमा स्वास्थ्य शिवीर सञ्चालन गरेर कृतिम अंग प्रत्यारोपण गर्नु पर्ने अपाङ्ग व्यक्तिहरुको पहिचान गरिएको छ । जिल्ला विकास समिति जाजरकोटको व्यवस्थापन तथा आर्थिक सहयोग र नेपालगञ्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा दुई ठाउँमा शिवीर सञ्चालन गरेर कृतिम अंग प्रत्यारोपन गर्नु पर्ने अपाङ्ग व्यक्तिहरुको पहिचान गरिएको हो ।

यही फागुन १० र ११ गते दशेराको थलहमा सञ्चालन गरिएको शिवीरमा स्वास्थ्य जाँच गराएका १ सय २० जना मध्ये ५२ जना अपाङ्ग व्यक्तिलाई बैषाखी, ह्वीलचेर लगाएतका सामाग्रीहरु वितरण गरिएको जिल्ला विकास समितिका योजना तथा प्रशासकिय अधिकृत गणेशप्रशाद खनालले जानकारी दिए । त्यसैगरि १३ र १४ गते प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा सञ्चालन गरिएको स्वास्थ्य शिवीरमा स्वास्थ्य जाँच गराएका १ सय ४५ जना मध्ये १ सय ३ जनालाई ह्वीलचेर, बैषाखी जस्ता सामाग्री हस्तान्तरण गरिएको अधिकृत खनालले वताए । उक्त दुई शिवीरमा स्वास्थ्य जाँच गरिएका २ सय ६५ जना मध्ये १५ जनाको कृतिम अंग प्रत्यारोपन गर्नु पर्ने अपाङ्ग व्यक्तिहरुको पहिचान गरेर कृतिम हात, खुट्टा तथा खुट्टामा लगाउने सहायक सामाग्री नाप लगिएको अधिकृत खनालले जानकारी दिए ।

शिवीरवाटै नाप लगिएका १५ जनाको कृतिम अंग प्रत्यारोपन नेपागञ्जको शिक्षण अस्पतालमा गरिने भएको छ । गत बर्ष सम्पन्न जिल्ला परिषदले बिनियोजन गरेको ७ लाखको बजेटवाटै अपाङ्गहरुको परिक्षण गर्नुका साथै कृतिम अंग प्रत्यारोपन गरिने जिल्ला विकास समिति जाजरकोटले जनाएको छ । अपाङ्गहरुको सर्वेक्षणका लागि जिल्लाको दुई ठाउँमा सञ्चालन गरिएको स्वास्थ्य शिवीरमा नेपलगञ्ज मेडिकल कलेजले ३ जना चिकित्सक र ८ जना स्वास्थ्यकर्मी परिचालन गरेको थियो ।
दीपबहादुर घर्ती / जाजरकोट

अंग प्रत्यारोपण

विशेष