समाज

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै, यस्ताे छ अाचारसंहिता (पूर्णपाठ)

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै, यस्ताे छ अाचारसंहिता (पूर्णपाठ)
फागुन - १७ । निर्वाचन आयोगले बुधबारदेखि लागू हुनेगरी निर्वाचन तथा स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ लागू गर्ने भएको हो । मंगलबार बसेको आयोगको बैठकले निर्वाचन आयोग ऐनअनुसार आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आगामी २०७४ वैशाख ३१ गते देशभरी एकैसाथ स्थानीय निर्वाचनका लागि बुधबार (फागुन १८ गते)देखि नेपाल सरकार, मन्त्री, स्थानीय निकाय-तह, सबै सार्वजनिक पद धारण गरेका कर्मचारीहरुलाई लागू हुने आयोगले जनाएको छ ।

निर्वाचन आचार संहिता (दोश्रो संशोधन), २०७३

प्रस्तावनाः निर्वाचन आचार संहिता, २०७२ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले यो आचार संहिता बनाएको छ । १. संक्षिप्त नाम र प्रारम्भ (१) यस आचार संहिताको नाम “निर्वाचन आचार संहिता (दोश्रो संशोधन), २०७३ रहेको छ । (२) यो आचार संहिता तुरुन्त प्रारम्भ हुनेछ । २. निर्वाचन आचार संहिता, २०७२ को प्रस्तावनामा संशोधन निर्वाचन आचार संहिता, २०७२ (यसपछि “मूल आचार संहिता” भनिएको) को दफा २ को,– (१) खण्ड (ग) मा रहेका “तह, विश्वविद्यालय र सामुदायिक विद्यालयमा अध्यापन गराउने” भन्ने शब्दहरुको सट्टा “तहका कर्मचारी सम्झनु पर्छ र सो शब्दले विश्व विद्यालय र सामुदायिक विद्यालयका” भन्ने शब्दहरु राखिएका छन् । (२) खण्ड (ञ) मा रहेको “सम्झनु पर्छ ।” भन्ने शब्दहरुको सट्टा “सम्झनु पर्छ र सो शब्दले धारा २६९ बमोजिम दर्ता भएका राजनीतिक दललाई समेत जनाउँछ ।” भन्ने शब्दहरू राखिएका छन् । ३. मूल आचार संहिताको दफा ३ मा संशोधन : मूल आचार संहिताको दफा ३ को सट्टा देहायको दफा ३ राखिएको छ ः– “३ आचार संहिता लागू हुनेः (१) यो आचार संहिता देहायका संस्था, व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ ः– (क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री, (ख) प्रदेश सरकार र स्थानीय निकाय वा तह, (ग) प्रदेश सरकार र स्थानीय निकाय वा तहका कर्मचारी, (घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, (ङ) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, (च) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, (छ) निर्वाचनको काममा संलग्न कर्मचारी, (ज) राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, (झ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति, (ञ) सार्वजनिक पद धारणा गरेको व्यक्ति, (ट) पर्यवेक्षक, (ठ) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, (ड) निजी तथा गैरसरकारी संस्था, (ढ) आयोगले तोकेका अन्य निकाय वा व्यक्ति । (२) आयोगले उपदफा (१) बमोजिमका संस्था, व्यक्ति, निकाय तथा अधिकारीलाई अलग–अलग मितिदेखि यो आचार संहिता लागू हुने गरी तोक्न सक्नेछ ।” ४. मूल आचार संहिताको परिच्छेद–५ मा संशोधनः मूल आचार संहिताको परिच्छेद–५ को शीर्षकमा रहेको “गैरसरकारी संस्था” भन्ने शब्दहरुको सट्टा “निजी तथा गैरसरकारी संस्था” भन्ने शब्दहरु राखिएका छन् । ५. मूल आचार संहिताको दफा १५ मा संशोधनः मूल आचार संहिताको दफा १५ को ठाउँ–ठाउँमा रहेका “गैरसरकारी संस्था” भन्ने शब्दहरुको सट्टा “निजी तथा गैरसरकारी संस्था” भन्ने शब्दहरु राखिएका छन् । ६. मूल आचार संहिताको दफा १७ मा संशोधनः मूल आचार संहिताको दफा १७ मा रहेको “निर्वाचन आयोग ऐन, २०६३ को दफा २९ बमोजिमको” भन्ने शब्दहरूको सट्टा “निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिमको” भन्ने शब्दहरू राखिएका छन् । ७. मूल आचार संहिताको दफा १८ मा संशोधनः मूल आचार संहिताको दफा १८ मा रहेका “निर्वाचन आयोग ऐन, २०६३” भन्ने शब्दहरूको सट्टा “निर्वाचन आयोग ऐन, २०७३” भन्ने शब्दहरू राखिएका छन् ।

स्थानीय तह निर्वाचन आचार संहिता, २०७३

प्रस्तावनाः स्थानीय तहको निर्वाचनलाई स्वच्छ, र निष्पक्ष ढंगबाट सम्पन्न गर्नको लागि सरोकारवालाले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गर्नु वाञ्छनीय भएकोले, निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी सरोकारवालासँग परामर्श गरी निर्वाचन आयोगले यो आचार संहिता बनाएको छ । १. संक्षिप्त नाम र प्रारम्भः (१) यस आचार संहिताको नाम “स्थानीय तह निर्वाचन आचार संहिता, २०७३” रहेको छ । (२) यो आचार संहिता आयोगले तोकेको निकायलाई तोकेको अवधिभर लागू हुनेछ । २ परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आचार संहितामा,– (क) “आयोग” भन्नाले नेपालको संविधानको धारा २४५ बमोजिमको निर्वाचन आयोग सम्झनुपर्छ । (ख) “निर्वाचन” भन्नाले स्थानीय तहको निर्वाचन सम्झनु पर्छ । (ग) “पर्यवेक्षक” भन्नाले निर्वाचनको समयमा पर्यवेक्षण गर्न आयोगबाट अनुमति प्राप्त व्यक्ति वा संस्था सम्झनु पर्छ । (घ) “राजनीतिक दल” भन्नाले नेपालको संविधानको धारा २७१ बमोजिम आयोगमा दर्ता भएको राजनीतिक दल सम्झनु पर्छ र सो शब्दले धारा २६९ को उपधारा (१) बमोजिम गठन भएका राजनीतिक दललाई समेत जनाउँछ । (च) “सम्बन्धित व्यक्ति” भन्नाले उम्मेदवार वा राजनीतिक दलको तर्फबाट निर्वाचन प्रचार प्रसारमा संलग्न व्यक्ति सम्झनु पर्छ र सो शब्दले उम्मेदवारको निर्वाचन प्रतिनिधि वा राजनीतिक दल वा सोको भातृ सङ्गठनको सदस्य वा कार्यकर्तालाई समेत जनाउँछ । (छ) “स्थानीय तह” भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा सम्झनु पर्छ । ३. आचार संहिता लागू हुनेः (१) यो आचार संहिता देहायका संस्था, व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ ः– (क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री, (ख) स्थानीय निकाय/तह, (ग) स्थानीय निकाय/तहका कर्मचारी, (घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, (ङ) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, (च) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत् निकायमा कार्यरत सुरक्षाकर्मी, (छ) निर्वाचनको काममा संलग्न कर्मचारी, (ज) राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, (झ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति, (ञ) सार्वजनिक पद धारणा गरेको व्यक्ति, (ट) पर्यवेक्षक, (ठ) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, (ड) निजी तथा गैरसरकारी संस्था, (ढ) आयोगले तोकेका अन्य निकाय वा व्यक्ति, (ण) नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी । (२) आयोगले उपदफा (१) बमोजिमका संस्था, व्यक्ति, निकाय तथा अधिकारीलाई अलग–अलग मितिदेखि यो आचार संहिता लागू हुने गरी तोक्न सक्नेछ । ४ निर्वाचनमा सवारी साधन प्रयोग गर्दा पालना गर्नु पर्ने आचरणः निर्वाचनमा सवारी साधन प्रयोग गर्दा देहायको आचार संहिता पालना गर्नु पर्नेछः– (क) महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा दुईवटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा मोटर साइकल तथा वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपाङ्ग्रे हलुका सवारी साधन एउटा मोटर साइकल प्रयोग गर्न सक्ने, (ख) उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा एकवटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा मोटर साइकल प्रयोग गर्न सक्ने, तर त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रयोग गर्न सक्ने । (ग) एउटा उम्मेदवारको नाममा स्वीकृत वा प्रयोग भएको सवारी साधन अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने । ५. अनुगमन संयन्त्रः (१) आयोगले यो आचार संहिता कार्यान्वयनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम अनुगमन संयन्त्र निर्माण गर्नेछ । (२) उपदफा (१) बमोजिम निर्माण गरिने अनुगमन संयन्त्र सम्बन्धी अन्य व्यवस्था निर्वाचन आचार संहिता अनुगमन निर्देशिका, २०७३ मा उल्लेख गरिए बमोजिम हुनेछ । ६. कारबाही र सजायः कसैले यस आचार संहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम कारबाही र सजाय हुनेछ । ७. निर्वाचन आचार संहिता, २०७२ लागू हुनेः यस आचार संहितामा उल्लेख भएका कुरामा यसै बमोजिम र उल्लेख नभएका कुरामा निर्वाचन आचार संहिता, २०७२ मा व्यवस्था भए बमोजिम हुनेछ ।

nirbachan aayog

विशेष