सरकारी स्कुलमा पढेर कार बनाएका १८ वर्षीय भीम, जसले ईन्जिनियरिङ पढ्न पाएनन् (भिडियो)
बाग्लुङका भीम सुनार कक्षा ६ मा पढ्दै थिए । पहिलो पटक उनको गाउँमा बाटो खन्ने मेसिन आयो । बाग्लुङको जिल्लाको विकट गाउँमा त्यो मेसिन नयाँ थियो । भीमलाई अनौठौ लाग्यो । यो के मेसिन रहेछ जान्ने ईच्छा जाग्यो । बुझ्दा थाहा पाए गाउँमा बाटो बनाउन आएको मेसिनको नाम डोजर रहेछ । पहिलो पटक डोजर देखेपछि उनी घोरिन थाले । यो कसरी बन्यो होला भन्ने प्रश्नले उनलाई घोचिरह्यो ।
साथीहरुसँग दिनहुँ विद्यालय जान्थे । विद्यालयमामा पनि उनी डोजरकै सोचमा डुबिरहेका हुन्थे । साथीहरु फुटवल खेल्न जान्थे । उनी घरमै घोरिएर बस्थे । यसरी घरमै धुम्धुम्ती बसेको देख्दा उनलाई ‘यो त बौलाएछ कि क्या हो’ भन्नेहरु धेरै थिए । जसले जे भनेपनि उनलाई कुनै मतलब थिएन । ‘कसरी बन्यो ? कसले बनायो ? ’ पहिलोपटक डोजर देखेपछि उनले यही सोचिरहे । अन्त्यः उनको सोचले मूर्त रुप लियो । त्यसपछि उनले डोजर बनाए । डोजरपछि उनले हेलिकप्टर पनि बनाए । उनी यतिमा सिमित भएनन् । पानीजहाज र अन्य सानातिना खैलौनाहरुसमेत बनाए । उनले बोल्ने रोबोटसमेत बनाएर आफ्नो साथीहरुलाई चकित पनि पारे । यति धेरै यन्त्रहरु बनाइसक्दा उनी स्कुल पढ्दै थिए ।
माधव घिमिरेको कविता ‘सिर्जना शक्ति संसारमा कहिल्लै विफल हुदैन ।’ भन्ने भावलाई भीमले प्रमाणित गरेर देखाइदिए । उनी बाग्लुङको सामान्य परिवारमा जन्मिएका हुन् । उनको बुवाले फर्निचर व्यावसाय गरेर परिवार धानेका छन् । भीम आफ्नै गाउँको सरकारी विद्यालय देवकोटा निम्न माध्यमिकबाट कक्षा ८ सम्मको अध्ययन सके । सधैँभरी स्कुल नगएपनि गाली गर्ने कोही थिएनन् । पढाईमा अब्बल नभएकाले पनि उनी हप्तामा एक–दुइ पटकभन्दा बढी विद्यालय जाँदैनथे । ८ कक्षाभन्दा माथिको पढाई त्यहाँ थिएन ।
त्यसपछि उनी सिरिशे उच्च माविमा गए । त्यहाँ अहिले उनी कक्षा १२ मा शिक्षा संकायमा पढ्दैछन् । उनी साईन्सका विद्यार्थी हैनन् र कुनै प्राविधिक तालिम पनि लिएका छैनन् । सरकारी विद्यालयमा पढ्दै गरेका उनीसँग त्यससम्बन्धि कुनै पुस्तक पनि छैन । परिवारिक आर्थिक अवस्था कम्जोर भएकाले ईन्जिनियरिङ विषय पढ्न सकेनन् । तैपनि उनले एकपछि अर्को यन्त्रहरु बनाउदै गए ।
गाउँमा उनले बनाएको खैलौना हेलिकप्टर टावरको वरिपरि उड्थ्यो । डोजर ब्याट्री र पानीबाट चल्थयो । कपडा सिलाउने मेसिनबाट आफ्नै डिजाईनमा तरकारी काट्ने मेसिन बनाएका थिए । उनले बनाएका चित्रहरु देखेर विद्यालयका साथी तथा गाउँका सबै दंग पर्थे । विद्यालय पढ्दा बनाएका ससाना खैलौना देख्दा सबैले भीमलाई हौसला दिन्थे । त्यसपछि उनमा म जे पनि बनाउन सक्छु भन्ने आत्मविश्वास जाग्थ्यो । गाउँमै बसेर ठूलो मेसिन बनाउन सम्भव थिएन । सामान र खर्च जोहो गर्न गाह्रो थियो । ‘अब ससाना मात्र हैन ठूलो मेसिन बनाएरै छोड्छु ।’
यही लक्ष्यले उनलाई काम गर्न प्रेरणा दिएको थियो । भीम आफ्नै आइडियाको गाडी बनाउने लक्ष्य लिएर एकमहिना अघि मात्रै काठमाडौं आएका हुन् । काठमाडौं छिर्दा उनीसंग लक्ष्य बाहेक अरु केही थिएन । त्यसैले गाडी बनाउनका लागि धेरै ठाउँमा सहयोग मागे । तर, उनलाई धेरैले पागल भने । पागल बनेको कारणले नै गाडी बनाउन सकेको बताउछन् । उनले फागुनको पहिलो हप्ता ‘ओशियन’ नामक गाडी बनाएर सार्वजानिक गरे । ८० हजार लागतको गाडी बन्न एक महिना लागेको थियो । गाडी सार्वजानिक गरेपछि उनको चर्चा चुलियो । काठमाडौंबाट ओझेल परेका उनी काठमाडौंमा पनि चिनिए । उनले बनाएको ‘ओशियन’ गाडीमा फलाम, काठ र मोटरसाईकलको ईन्जिन जोडिएको छ । उनी त्यो गाडीलाई सोलारबाट चल्ने बनाउने योजनामा थिए । खर्चको कारण त्यो सम्भव भएन । ओशियन गाडी ब्याट्री र पेट्रोल दुबैबाट चल्छ ।
लागत कम भएपनि गाडीमा बसेर यात्रा गर्न मिल्छ । ‘तीन लाख लागतमा अत्यन्तै राम्रो गाडी बनाउन सकिन्छ ।’ उनले भने– ‘मसंग लगानी गर्ने स्रोत भएको भए, मैले धेरै मेसिनहरु बनाइसक्थेँ । घमण्ड गरेको हैन, म नेपालीलाई उपयोगी हुने धेरै मेसिनहरु बनाउन सक्छु ।’ ‘१८ वर्षको उमेरमै बिना तालिम, बिना अध्ययन यस्तो निमार्ण, कसरी ?’ यस्तो प्रश्न उनलाई धेरैले सोध्ने गर्छन । ‘म एकदम धेरै नै सोच्छु । जे बनाउन लागेको हो, त्यसको बारेमा धेरैदिन सोचेपछि स्केच बनाउछु ।’ उनले भने– ‘स्केच बनेपछि समान जम्मा गर्छु र बनाउन थाल्छु ।’ भीमले हेलिकोप्टर र रोबोट प्रत्यक्ष देख्न पाएका थिएनन् । टेलिभिजनमै हेरेको भरमा ती मेसिनहरु बनाए ।
स्केच र सोचाईमा धेरै डुब्दा उनलाई आफूले बनाउन चाहेको वस्तुको ज्ञान प्राप्त हुने उनी बताउछन् । उनले आफूलाई आवश्यक हुने सामानहरु आफैँ संकलन गर्दछन् । अरुले काम नलाग्ने भनेर छोडेका सामान प्रयोग गरेर नयाँ मेसिन बनाउँछन् । ‘मैले बनाउने सामानहरु आफैँले खोज्नुपर्छ । फलामहरु खोजेर के बनाउने हो त्यस्तो आकारमा आफैँले ढाल्नुपर्छ ।’ उनले भने– ‘काठ, फलाम, ब्याट्री लगायत अन्य घरायसी सामानहरुलाई उपयोग गरेर अहिलेसम्म बनाउदै
आएको छु ।’
भीमलाई ईन्जिनियरिंग पढ्ने र प्राविधिक ज्ञान सिक्ने धेरै ठूलो धोको छ । उनको बुवाले फर्निचर व्यावसायबाट धेरै थोर सहयोग गरेको कारण यो स्थानसम्म आउन सफल भएको बताउछन् । ‘धेरै पढ्ने, सिक्ने र मेसिनहरु बनाउने लक्ष्य छ । आफ्नो आयस्रोत राम्रो छैन ।’ उनले भने –‘कसले सहयोग गर्ला र मेरो सपना पूरा होला ।’ भीम आफ्नो क्षमताको लागि राज्यले लगानी गर्नुपर्ने बताउछन् । लगानी गर्न नसके बाध्य भएर विदेसिनु बाहेक अर्काे विकल्प नहुने उनको तर्क छ । ‘मेसिन बनाउने प्रतिभाहरु जन्माउन नसके पनि, जन्मेकाहरुलाई राज्यले संरक्षण गर्नुपर्छ । उनले भने– ‘म जे बनाउन चाहन्छु, त्यो बनाएर छाड्छु । त्यसैले हत्तपत्त हार मानेर विदेश चाहीँ गई हाल्दिन ।’
भीम आत्मविश्वासी छन् । धेरै प्रकारका मेसिन बनाउन सक्ने खुबी उनमा छ । जस्तोसुकै अवस्था आएपनि यो कर्मबाट टाडिन चाहदैनन् उनी । आफ्नो सीप आफ्नै मुलुकमा प्रयोग गर्ने उनको ईच्छा छ । भीमको योजना कृषि क्षेत्रलाई सहयोग हुने खालका मेसिनहरु बनाउने छ । आगामी दिनमा उनी गहुँ, कोदो, धान, भटमासलाई सरल व्यबस्थापन गर्ने मेसिन बनाउने सोचमा छन् । त्यसको लागि उनलाई सहयोगको जरुरत छ ।
सागर बुढाथोकी
bhim sunar