स्वास्थ्य

असुरक्षित गर्भपतन बढ्दै

असुरक्षित गर्भपतन बढ्दै

लमजुङ ।  लमजुङमा असुरक्षितरुपले गर्भपतन गराउनेको संख्या बढेको सार्वजनिक भएको छ ।

असुरक्षितरुपले गर्भपतन गराउँदा समस्या बल्झिएपछि थप उपचारका लागि जिल्ला अस्पताल आउनेको सङ्ख्या बढेकाले सो घटना सार्वजनिक भएको हो । जिल्लाको सबैभन्दा ठूलो अस्पताल लमजुङ जिल्ला सामुदायिक अस्पतालमा गर्भपतन सेवा नभएपनि अन्यत्र गर्भपतन गराएर समस्यामा परेका बिरामी भने सो अस्पतालमा आउने गरेका छन् ।

अस्पतालको तथ्याङ्क अनुसार गत साउन यता ५६ जनाले असुरक्षितरुपले गर्भपतन गराउँदा समस्या भएर थप उपचारको लागि जिल्ला सामुदायिक अस्पतालमा आएका हुन् । गर्भपतनपछि समस्या भएर आएकाको पनि तथ्याङ्क राखिएको जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईंले बताए । लमजुङमा सुरक्षित गर्भपतनको लागि पाँचवटा स्वास्थ्य एकाइले मात्र अनुमति पाएपनि निजी मेडिकल हल तथा क्लिनिकमा गएर असुरक्षित गर्भपतन गराउने बढिरहेको अनुमान गरिएको छ । “सरकारले १२ हप्तासम्मको गर्भपतनको निम्ति निःशुल्क व्यवस्था गरेको छ” जनस्वास्थ्य प्रमुख चापागाईंले भने “तर अस्पतालको तथ्याङ्क अनुसार पैसा तिरेर अवैधानिक र असुरक्षित गर्भपतन गराउने अधिक भएको अनुमान गरेका छौँ ।”

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सदरमुकाम बेसीसहरको (लमजुङ मोडेल अस्पताल) निजी अस्पतालले सुरक्षित गर्भपतनका लागि मान्यता पाएको छ । सोबाहेक सुन्दरबजार अस्पताल, चिसंकु स्वास्थ्यचौकी, धमिलीकुवा स्वास्थ्यचौकी र खुदी स्वास्थ्यचौकीले सुरक्षित गर्भपतनका लागि अनुमति पाएका छन् । अवैधानिक र असुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्था पहिचान भएकाले त्यस्ता संस्थालाई छानबिन गरी कारबाही गरिने जनस्वास्थ्य प्रमुख चापागाईंले बताए । सरकारले अनुमति दिएका स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको निम्ति शुल्क नलाग्ने घोषणा गरेपनि सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अघिल्ला वर्षको तुलनामा घटेको पाइएको छ । कार्यालयका अधिकृत कौशल भण्डारीका अनुसार चालु आवमा लमजुङमा गर्भपतन गराउनेको सङ्ख्या १०० पनि कटेको छैन । उनले जिल्लाका पाँच वटै सेवा केन्द्रबाट करिब ७५ जनाले सुरक्षित गर्भपतन गराएको बताए ।

यसअघिको तथ्याङ्क अनुसार जिल्लामा मासिक ५५ भन्दा बढीले गर्भपतन गराएका थिए । असुरक्षित यौन सम्पर्क, छोरा पाउनुपर्ने परम्परागत मान्यताजस्ता कारणले गर्भपतन गराउनेको सङ्ख्या बढेको सरोकारवाला बताउँछन् । गर्भपतन गर्नेमा २० देखि ४० वर्ष उमेर समूहका बढी रहेको तथ्याङ्कले देखाएको छ । 

गर्भपतन लमजुङ

विशेष