समाज

'वृद्धवृद्धाका लागि आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने'

'वृद्धवृद्धाका लागि आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने'
फागुन - १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्धवृद्धाका लागि छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने कानुन तर्जुमा हुन लागेको बताएकी छन्। मनमोहन प्रतिष्ठानले आज राष्ट्रपति निवासमा आयोजना गरेको ज्येष्ठ नागरिक देश दर्शन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले यससम्बन्धी कानुन मस्यौदा गरिरहेको जानकारी आफूले पाएको बताइन्। “सम्पत्तिको ७५ प्रतिशतमात्र अंशका रुपमा छोराछोरीलाई बाँडिने र २५ प्रतिशत वृद्धवृद्धाकै नाममा हुने व्यवस्था पनि कानुनमा हुँदैछ, वृद्धवृद्धालाई आश्रममा राख्ने व्यवस्थाभन्दा घरमा सम्मानसाथ तीन पुस्ता बस्ने संस्कारको पुनःर्जागरण गरिनुपर्छ”– उनले भनिन्। सडकलगायत पूर्वाधार वृद्धवृद्धा, बालबालिका र अपाङ्गमैत्री हुनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन्। प्रतिष्ठानका अध्यक्ष एवम् सांसद भरतमोहन अधिकारीले कमजोर बनेका ज्येष्ठ नागरिक र बालबालिकालाई देश दर्शन गराई पुनर्ताजगी गर्ने उद्देश्यले यस वर्ष छैठौँपटक कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्। राष्ट्रकवि माधवप्रसाद घिमिरेले वृद्धावस्था मनमा उज्यालो बाली सबैलाई उज्यालो बाँड्ने समय भएको विचार व्यक्त गरे। “वृद्धले जीवनभर गरेका अनुभवबाट हामीले शिक्षा लिनुपर्छ, ‘कुरा सुन्नु बूढाको आगो ताप्नु मुढाको’ भनेजस्तै”– उनले भने। संस्कृतिविद् सत्यमोहन जोशीले बुढेसकालमा दुःख नपाउनु नै रामराज्य भएकाले बुढापाकालाई राज्यले नै सम्मान दिनुपर्नेमा जोड दिए। इतिहासविद् ज्ञानमणि नेपालले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने वैदिक परम्परा भएकाले त्यसको अनुशरण गरिनुपर्ने बताए। फागुन ११ गतेदेखि १७ गतेसम्म १२९ जना ज्येष्ठ नागरिकलाई प्रतिष्ठानले देशका विभिन्न भाग भ्रमण गराइएको सो अवसरमा जानकारी गराइयो ।

Bidhya Bevi Bhandari

विशेष