स्वास्थ्य

जाजरकोटमा गर्भ जाँच गराउने महिलाको संख्या न्युन

जाजरकोटमा गर्भ जाँच गराउने महिलाको संख्या न्युन

फागुन १९ । स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउने गर्भवती महिलाहरुको संख्या जाजरकोटमा निकै न्युन रहेको पाईएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको सुरक्षित मातृत्व शाखाले निकालेको तथ्याङ्क अनुसार गर्भ जाँच गराउने महिलाहरुको संख्या न्युन पाईएको हो ।

जिल्ला अस्पताल सहित २७ वटा बर्थीङसेन्टर रहेको जिल्लामा संस्थागत सुत्केरी हुने महिलाहरुको संख्यामा नियमित गर्भजाँच गराउने महिलाहरुको संख्या निकै कम रहेको हो । जिल्लाभर हालसम्म चालु आर्थिक बर्षमा संस्थागत सुत्केरी हुने महिलाहरुको संख्या ५ सय १६ जना मध्ये स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराउने महिलाहरुको संख्या २ सय १६ जना मात्र रहेको सुरक्षित मातृत्व शाखामा कार्यरत अनमी जयकुमारी खड्काले जानकारी दिईन् ।

मातृ तथा शिशु मृत्युदरलाई कम गर्न नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराउने गर्भवती महिलाहरुलाई ४ सय रुपैया पुर्वप्रसुती उत्प्रेरणा रकम दिने गरेको भएता पनि नियमित गर्भजाँच गराउने महिलाहरुको संख्या कमि भएकोमा अनमी खड्काले दुःख व्यक्त गरिन् ।

स्वास्थ्य संस्थामै पुगेर संस्थागत सुत्केरी हुने महिलाहरुलाई यातायात खर्च एक हजार रुपैया दिने प्रावधान भएता पनि अझै पनि होम डेलीभेरी हुने महिलाहरुको संख्या धेरै रहेको अनमी खड्काले खुलासा गरिन । पेटमा गर्भ रहेको दिन देखि ४ महिनामा पहिलो पटक, ६ महिनामा दोश्रो पटक, ८ महिनामा तेश्रो पटक र ९ महिनामा चौथो पटक स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउनु पर्ने परिवार स्वास्थ्य महाशाखाको सुरक्षित मातृत्व फाँटले जनाएको छ ।

सुत्केरी भएको २४ घण्टा भित्रै पहिलो पटक, ३ दिन भित्रै दोश्रो पटक र ७ दिन भित्रै तेश्रो पटक उत्तर प्रसुती जाँच गराउनु पर्ने प्रसुती स्वास्थ्य प्रावधान छ तर, सुत्केरी हुनु पुर्वकै अबस्थामा नियमित गर्भ जाँच गराउने महिलाहरु संख्या जिल्लामा निकै कम देखिएको छ । जिल्लाका प्राय ठाउँमा न्युन चेतना हुनु, भौगलिक बिकटता, गरिवीका कारणले गर्दा स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलाहरुको संख्या निकै कम रहेको अस्पताल समितिका अध्यक्ष महेन्द्र शाहको भनाई रहेको छ ।

विशेष