खेल

बार्सिलोनाका प्रशिक्षक एनरिकले गरे क्लब छोड्ने घोषणा

बार्सिलोनाका प्रशिक्षक एनरिकले गरे क्लब छोड्ने घोषणा
फागुन–१९ । ला लिगाअन्तर्गत बिहीबारको खेलमा बार्सिलोनाले स्पोर्टिङ गिजोनलाई ६–१ ले पराजित गरेपछि बार्सिलोनाका प्रशिक्षक लुइस एनरिकले क्लब छोड्ने घोषणा गरेका छन् । केही समय फुटबलबाट विश्राम लिन यसै सिजनको अन्त्यमा बार्सिलोना छोड्ने उनले पत्रकार सम्मेलनमा बताएका हुन् । एनरिकको बार्सिलोनामा यो तेस्रो सिजन हो । दुई साताअघि च्याम्पियन्स लिगअन्तर्गत फ्रान्सको पेरिस सेन्ट जर्मनी (पिएसजी) सँग नकआउट चरणको पहिलो लेगमा ४–० ले पराजित भएपछि उनको रणनीतिलाई लिएर प्रश्न उठ्दै आइरहेको थियो । उनी घरेलु लिग ला लिगाको ह्याट्रिक गर्ने अभियानमा छन् । तर च्याम्पियन्स लिगमा टोलीको खस्किँदो प्रदर्शन नै उनको अवकासको मुख्य कारण बनेको बताइन्छ । स्पेनका पूर्व मिडफिल्डर एनरिकले सन् १९९६ देखि २००४ सम्म बार्सिलोनाबाट खेलेका थिए । सन् २००८ देखि २०११ सम्म उनी बार्सिलोनाको ‘बी’ टोलीमा प्रशिक्षकको भूमिकामा थिए । बार्सिलोनाले पनि उनको निर्णयलाई स्वीकार गरेको छ ।

प्रशिक्षक बार्सिलोना लुइस एनरिक

विशेष