समाज

कृषि पकेट क्षेत्र बनाउन साेह्र सय किसानले दिए अावेदन

कृषि पकेट क्षेत्र बनाउन साेह्र सय किसानले दिए अावेदन
फागुन–१९ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चितवनमा कृषि पकेट क्षेत्र निर्माणका लागि एक हजार ६०० किसानले आवेदन दिएका छन् । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार उक्त कार्यक्रमका लागि एक हजार ६०० र कृषि ब्लकका लागि ५०० भन्दा बढी किसानको आवेदन परेको हो । जिल्ला कृषि कार्यालयका प्रमुख सुधीर श्रेष्ठले आएका आवेदनको छानबिन सुरु भएको र आगामी महिनामा कार्यक्रम सञ्चालन हुने जानकारी दिए । उनले चितवनमा पकेट क्षेत्रका लागि ७० वटा क्षेत्र तय गरिए पनि १०० को आवेदन परेको जानकारी दिए । यसमा धान, मकै, तरकारी, माछा, आलु, केरा, गहुँ, सुन्तला उत्पादक किसान छन् । पकेट क्षेत्र निर्माण गर्न कम्तीमा १० हेक्टर क्षेत्रफल हुनुपर्ने उल्लेख छ । चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन, पकेट र ब्लक गरी तीन वटा कार्यक्रम सञ्चालन गरिएको छ । यसको कुल बजेट रु सात करोड ३० लाख ७७ हजार छ । कृषि ब्लकअन्तर्गत माछा र धानखेती परेको छ । पूर्वी चितवनमा धान र दक्षिण माडीमा माछाको ब्लकका लागि छुट्याइएको कार्यालयले जनाएको छ । एउटा ब्लकका लागि कम्तीमा १०० हेक्टर क्षेत्रफल आवश्यक पर्छ । परियोजनाअन्तर्गत झन्डै रु एक करोडको कार्यक्रम कृषि जोनका लागि आएको श्रेष्ठले बताए । कृषि जोनअन्तर्गत पश्चिम चितवनमा तरकारी उत्पादनका लागि कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी जोन कार्यक्रमका प्रमुख सोमनाथ घिमिरेले परियोजनाबारे जानकारी दिँदै न्यूनतम ५०० हेक्टर क्षेत्रमा तरकारी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको बताए । चितवनको नारायणी, चित्रवन नगरपालिका र भरतपुर उपमहानगरपालिकाका केही क्षेत्रलाई समेटेर परियोजना सञ्चालन गरिएको उनको भनाइ छ । उनले जुन जिल्लामा जे सम्भावना छ, त्यही जिल्लामा त्यही कृषि कार्यक्रम सञ्चालन गर्ने लक्ष्यअनुसार तरकारी जोनको रुपमा चितवनमा कार्यक्रम आएको बताए । रासस

अावेदन किसान कृषि पकेट क्षेत्र

विशेष