दुई दिनदेखि बेपत्ता बालकको हत्या
फागुन - १९ । धनुषाको पटेर्वा–१ बस्ने राजाराम यादवका सात वर्षीय छोरा रुपेश यादवको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार गत सोमबारदेखि बेपत्ता बालकको शव बुधबार साँझ घरनजिकैको गहुँखेतमा हत्या गरेर फालिएको अवस्थामा फेलापरेको छ ।
घाँटीमा लगाएको मालाले नै बालकको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । बालकका काका रामनाथ यादवकाअनुसार गत सोमबार घरनजिकै छिमेकीको घरमा भोज खान भनेर गएकोबेलादेखि भतिजा रुपेश बेपत्ता भएका थिए ।
भोज खाएर रुपेश आफू पढ्ने जनज्योति बोर्डिङ स्कुलमा पढ्न गएको आफूहरुलाई लागे पनि अबेर साँझसम्म घर नआउँदा खोजतलास सुरु गरिएको यादवले बताए । सोमबार साँझदेखि खोजतलास गर्दा बालक नभेटिएपछि मंगलबार घर–परिवारले इप्रका सवैलामा निवेदन दिएका थिए ।
खोजतलासकाक्रममा बुधबार साँझ घरनजिकैको गहुँखेतमा बालकको हत्या भएको अवस्थामा शव फेलापरेको घर–परिवारले जनाएको छ ।भोज खाएर हात धुनेबेला नै भतिज रुपेशलाई अपहरण गरी हत्या गरेको हुनसक्ने काका रामनाथको भनाइ छ ।
उनकाअनुसार करिब एक महिनाअघि खेल्नेक्रममा भतिज रुपेश र छिमेकी सिरिया मुखियाका नातिसँग बच्चा–बच्चामा झगडा भएको थियो । त्यस घटनाको एक महिनापश्चात् बालकको हत्या भएकाले सिरिया मुखियाकै परिवारले अपहरण गरेको हुनसक्ने रुपेशका परिवारको आशंका छ ।
बुधबार बिहान सिरिया मुखिया र उनकी श्रीमती इमिरादेवी मुखिया घरबाट भाग्न खोजेपछि स्थानीयवासीले पक्राउ गरी इलाका प्रहरी कार्यालयलाई जिम्मा लगाएको केही समयपश्चात् बुधबार साँझ नै रुपेशको हत्या भएको अवस्थामा शव फेलापरेको प्रहरीले जनाएको छ ।
प्रहरीले सिरिया मुखियासँगै स्थानीय महेश यादवलाईसमेत नियन्त्रणमा लिएर तीनैजनामाथि अनुसन्धान गरिरहेको सवैला इलाका प्रहरीका सई टेकबहादुर ढकालले जानकारी दिए ।
बालकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिप्रका धनुषाले जनाएको छ । रासस
Death