स्वास्थ्य

रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी–एड्स संक्रमित

रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी–एड्स संक्रमित
फागुन - १९ । रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी–एड्स संक्रमित भएका छन् । प्रवासी बाबु तथा घरमा रहेकी आमाबाट जन्मेका निर्दोष पाँच बालबालिका एचआइभी–एड्स संक्रमित भएर जीवन जीउँदै आएको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिइन् । उनकाअनुसार वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा पुगेका युवा एचआइभी–एड्स संक्रमित भएर स्वदेश फर्किसकेपछि उनीहरुबाट जन्मेका बालबालिका एचआइभी–एड्स संक्रमित भएका हुन् । यसरी संक्रमित बाबु–आमाबाट जन्मेका बालबालिकाले निरन्तर औषधि सेवन गरिरहेका छन् । समाजले अपहेलना गर्ने डरले यी सबै बालबालिका आफूलाई एड्स संक्रमण भएको कुरा खुलासा गर्न चाहँदैनन् । एकातिर बिरामी पर्नु, अशक्त हुनु, अर्कोतिर समाजले घृणा गर्ने डरले यी बालबालिकाको बालमस्तिष्कमा नकारात्मक असर पर्न थालेको छ । यसरी एचआइभी–एड्स संक्रमित हुने बालबालिकामा पूर्वी रोल्पाकी १४ वर्षीया बालिका आशमती कुसुम (नामपरिवर्तन) रहेकी छन् । वैदेशिक रोजगारीका लागि भारतको चन्डीगढ पुगेका उनका बुबा एचआइभी–एड्स संक्रमित भएर करिब १५ वर्षपहिले स्वदेश फर्किएका थिए । आफू संक्रमित भएको कुरा श्रीमतीलाई जानकारी नदिएका कारण उनकी श्रीमती पनि संक्रमित भइन् । संक्रमित बाबु–आमाबाट जन्मेको हुँदा उनी जन्मँदै एड्स संक्रमित भएर जन्मेकी हुन् । हाल आशमतीका बाबु–आमा दुबैको मृत्यु भइसकेको छ । उनी हजुरबुबा र हजुरआमासँग घरमा बस्दै आएकी छन् । श्रीमान्–श्रीमती दुबैको एड्स संक्रमणका कारण मृत्यु भएपछि गाउँलेले आशमतीलाई पनि एचआइभी–एड्स संक्रमण भएको हुनसक्ने भन्दै चेकजाँच गराउनेक्रममा केही वर्षपहिले आशमतीमा पनि एड्स संक्रमण देखिएको हो । हाल उनी गाउँकै विद्यायलमा कक्षा ३ मा पढ्दै छिन् । पटक–पटक बिरामी पर्ने गरेको हुँदा उनको पढाइले तीव्रता पाउन सकिरहेको छैन । यस्तै, उत्तर पूर्वी रोल्पामा पनि ८ र १२ वर्षका दुई दिदी–बहिनी एड्स संक्रमित भएर बाँचिरहेका छन् । उनीहरु पनि संक्रमित बाबु–आमाबाट जन्मेका हुँदा जन्मँदै एड्स संक्रमित भएका थिए । रोजगारीका लागि भारतको बम्बै ९मुम्बई० पुगेका उनीहरुका बाबु एक होटेलमा काम गर्थे । उनी पनि भारतमा काम गर्नेक्रममा एचआइभी–एड्स संक्रमित भएका हुन् । घरमा आएकाबेला श्रीमतीलाई आफू संक्रमित भएको कुरा जानकारी नदिएको हुँदा उनका कारण उनकी श्रीमती पनि एड्स संक्रमित भएकी हुन् । करिब तीन वर्ष निरन्तर बिरामी परेपछि उनको मृत्यु भइसकेको छ भने उनकी श्रीमती र दुई छोरी पनि एड्स संक्रमित भएर बाँच्न बाध्य भएका छन् । श्रीमान्को मृत्युपछि तीन आमाछोरी लगातार बिरामी पर्न थालेपछि रगत जाँच गर्नेक्रममा उनीहरुले एड्स संक्रमित भएको थाहा पाएका थिए । ती बालिका गाउँकै विद्यालयमा क्रमशः ३ र ४ कक्षामा पढ्दै आएका छन् । सुखी जीवन बिताउने सपना देखाएर धन कमाउन विदेश गएका श्रीमान्को एचआइभी–एड्स संक्रमणका कारण मृत्युमात्र भएन, बाँचेको परिवार पनि एड्स संक्रमित हुँदा उनीहरुलाई जीवन चलाउन हम्मे–हम्मे परेको छ । काम गरिखाने हातपाखुरा भएपनि संक्रमणका कारण तागत नचल्ने उनीहरुले बताए । ती बालिकाको परिवारले हाल सहकारीबाट पाएको सानो ऋणबाट गाउँमै सानो पसल चलाएर गुजारा गर्दै आएका छन् । यसैगरी, दक्षिण रोल्पाकी रामप्यारी शीतल ९नामपरिवर्तन० पनि एचआइभी–एड्स संक्रमित भएर जीवन जिउँदै आएकी छन् । हाल उनी १८ वर्ष पुगिसकेकी छन् भने उनले गत वर्ष एसएलसी परीक्षासमेत उत्तीर्ण गरिसकेकी छन् । रामप्यारीका बुबा पनि १६र१७ वर्षको उमेरदेखि रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुगिसकेका थिए । पेसाले उनी गाडी चलाउँथे । उनले पनि आफू एचआइभी–एड्स संक्रमित भएको कुरा श्रीमतीलाई जानकारी दिएनन् । घरमा फर्केकाबेला श्रीमतीको गर्भ रह्यो । सो गर्भबाट जन्मेको सन्तान जन्मँदै एड्स संक्रमित भइन् । रामप्यारी आज त्यसकै सिकार बनेर बाँच्न बाध्य छिन् । यस्तै, उत्तर पूर्वी रोल्पाका १७ वर्षीय अशेष राहत ९नाम परिवर्तन० पनि एचआइभी–एड्स संक्रमित बाबु–आमाबाट जन्मेका कारण संक्रमित भएर बाँचिरहेका छन् । परिवारलाई सुखसँग राख्ने आश्वासन दिएर भारतको चन्डीगढ पुगेका उनका बुबा भारतमा ज्याला–मजदुरी गर्थे । उनीपनि संक्रमित भएर स्वदेश फर्किए । तर, आफू संक्रमित भएको कुरा उनले कसैलाई भनेनन् । जसका कारण श्रीमान्–श्रीमती दुबैमा एचआइभी–एड्सले आक्रमण गर्‍यो । दुबैजना लगातार बिरामी पर्न थालेपछि चेकजाँचकाक्रममा श्रीमान्–श्रीमती र छोरामासमेत एचआइभी–एड्स संक्रमण देखियो । हाल परिवारका तीनैजनाले निरन्तर औषधि सेवन गरिरहेका छन् । आर्थिक तथा भौगोलिकरुपमा पछाडिपरेको रोल्पा १० वर्षे सशस्त्र युद्धका कारण विकासका क्षेत्रमा अझ धेरै पछि धकेलिएको छ । त्यसैले हरेक क्षेत्रबाट पछाडि पारिएका यी पाँच निर्दोश बालबालिकाको उज्ज्वल भविष्यका लागि सरकारी तथा गैरसरकारी निकायको ध्यान जान सकेमात्र यी बालबालिकाले न्याय पाउनेछन् भन्ने कुरामा दुईमत नहोला । रोल्पा प्लसका अध्यक्ष राधा विककाअनुसार रोल्पामा हालसम्म एचआइभी–एड्स संक्रमितको संख्या ६० पुगिसकेको छ । समाजले एचआइभी–एड्स संक्रमितलाई नबुझेका कारण केही संक्रमित जिल्ला छोडेर बाहिरिन बाध्य भएका छन् । पहिलेको तुलनामा एड्स संक्रमितलाई गर्ने व्यवहारमा केही परिवर्तन आएपनि पूर्णरुपमा परिवर्तन हुन सकिरहेको छैन ।
कविता उपाध्याय / रोल्पा

HIV/AIDS

विशेष