खेल

अभ्यास खेल सम्पन्न, टोलीको २ जित र १ हार

अभ्यास खेल सम्पन्न, टोलीको २ जित र १ हार
फागुन–१९ । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेस्रो तथा अन्तिम अभ्यास खेलमा जित हासिल गरेको छ । नेपालले तेस्रो अभ्यास खेलमा नोइडा वन्डर्सलाई ४० रनले पराजित गरेको हो । ग्रेटर नोएडास्थित गौतमबुद्ध युनिभर्सिटी ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २४८ रन बनाएको थियो । नेपालका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ७४ रन बनाए भने विनोद भण्डारी ४१ रनमा नटआउट रहे । यस्तै राजेश पुलामी ३०, आरिफ शेख २८ तथा आसिफ शेख र शरद भेषवाकरले समान २२ रन जोडे । नोइडा वन्डर्सका लागि विकास मिश्रले २ विकेट हात पारे । २४९ रनको लक्ष्य लिएर जवाफि ब्याटिङमा आएको वन्डर्सले ४७.२ ओभरमा सबै विकेट गुमाएर २०८ रन मात्र बनाउन सफल भयो । वन्डर्सका लागि प्रियम गर्गले सर्वाधिक ३४ रन तथा शिवम शर्माले ३८ रन जोडे । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ तथा शक्ति गौचन र सन्दिप लामिछानेले २–२ विकेट लिए । यसअघि नेपालले राजवाडा क्रिकेट टोलीसँग भएको दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग यही फागुन २८ र ३० गते हुने खेलको तयारीको लागि नेपाली टोली भारत भ्रमणमा गएको हो । बन्द प्रशिक्षणबाट छानिएका १९ मध्ये कप्तान पारस खड्का बाहेक १८ खेलाडी र ६ जना प्रशिक्षण र व्यवस्थापनकासहित २४ सदस्यीय नेपाली टोली शुक्रबार भारत प्रस्थान गरेको थियो । टोली शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

अभ्यास खेल क्रिकेट नेपाल

विशेष