‘चुनाव बिथोल्नु हुँदैन’ भन्ने नयाँ शक्तिका नौ केन्द्रीय सदस्यमाथि बाबुरामको डन्डा !
फागुन २० । सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनका विपक्षमा नयाँ शक्ति नेपालले संघीय समाजवादी फोरमसँग मिलेर सार्वजनिक गरेको प्रेस विज्ञप्तिविरुद्ध बोल्ने नयाँ शक्तिका नौ केन्द्रीय सदस्यमाथि कारबाही शुरु भएको छ ।
चुनावविरोधी निर्णय भएको भन्दै संयोजक बाबुराम भट्टराईविरुद्ध नयाँ शक्तिका नौ केन्द्रीय सदस्यले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका थिए । यसरी आपत्ति प्रकट गर्ने नौ मध्येका एक सहदेव न्यौपानेलाई संगठन विभाग संयोजक दीपक न्यौपानेले स्पष्टिकरण दिनू भन्दै पत्र काटेका छन् ।
नौ मध्येका एक केन्द्रीय सदस्यले नेपाल आजलाई भने, ‘निर्वाचन बिथोल्ने, मुलुकलाई सधै अस्थिर, अराजक बनाउनेसँग नेतृत्वले साँठगाँठ गर्यो । त्यसको विरोध गर्दा उल्टो निषेध गर्ने काम भएको छ । पार्टी गठन नहुँदै अराजकतातर्फ अगाडि बढेको महशुस भएको छ ।’
नयाँ शक्तिको चुनावविरोधी निर्णयका विपक्षमा केन्द्रीय परिषद सदस्यहरुमा निर्मल भट्टराई, मोहन बम, देव लिम्बु, हरिराम रिमाल, चन्द्रदेव ओजा, युबी घिमिरे, सहदेव न्यौपाने, अशोक राज ढुङ्गेल र मुनिन्द्र बस्नेत थिए ।
सरकारले चुनाव घोषणा गर्नु अघिल्लो दिन दिल्ली पुगेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले चुनाव स्थगित गर्न माग गर्दै संयुक्त विज्ञप्ति निकालेका थिए । भारतका विदेश सचिव एस. जयशंकरले संविधान जारी नगर्नू भन्ने धम्की आफ्नो पार्टी नेकपा माओवादीले अस्वीकार गरेपछि भट्टराईले पार्टी छाडेका थिए ।
सो कदमको केही पछि डा. भट्टराईले नयाँ शक्ति नेपाल पार्टी गठन गरेका हुन् ।