देश

राजविराज विमानस्थल असारभित्रै तयार हुने

राजविराज विमानस्थल असारभित्रै तयार हुने
फागुन - २० । राजविराज विमानस्थल निर्माण हुने म्याद आगामी मङ्सिरसम्म रहे पनि असारभित्रै तयार हुने भएको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिहीबार राजविराज विमानस्थलकै सभाहलमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा निर्माणको समयसीमा मङ्सिरसम्म भए पनि असारभित्रै विमानस्थलको रनवे तयार भइसक्ने जानकारी गराइयो । कार्यक्रममा विमानस्थल निर्माण कार्यका प्रमुख रामएकवाल महतोले असारभित्रै जहाज उड्ने योग्य विमानस्थल बनाइसक्ने जानकारी दिए । अहिले द्रुत गतिमा काम भइरहेको बताउँदै उनले असारसम्म परीक्षण उडान गरिसक्ने बताए । विमानस्थलको १५ सय मिटर लामो र ३० मिटर चौडाइ भएको रनवे निर्माण कार्य भइरहेको बताए । उनले यो विमानस्थल विराटनगरको जस्तै रहने बताए । ३० करोड ३० लाख रुपैयाँमा रनवे बनाउने काम भइरहेको जानकारी गराउँदै विमानस्थललाई सञ्चालन गराउनका निम्ति बजेटको कुनै अभाव नरहने विश्वास व्यक्त गेरे । समितिका सभापति प्रभु साहले आफू नेतृत्वको समितिले राजविराज विमानस्थलको निर्माण कार्यलाई प्राथमिकतामा राखेको बताउँदै बजेटको कुनै अभाव हुन नदिने बताए । उनले विमानस्थल निर्माण भए पनि विमानस्थलसँगै रहेको कुनौली सडक र हुलाकी सडक चार लेनको बनाउन पनि आग्रह गरे । कार्यक्रममा सप्तरी क्षेत्र नं २ का सांसद अमर मण्डल, क्षेत्र नं ३ का समानुपातिक सांसद जितेन्द्रनारायण देवसहित अधिकांश सदस्य सांसदको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मीले कुनै पनि बहानामा विमानस्थलको निर्माण कार्य रोकिन नहुने भन्दै आफूहरुबाट सक्दो सहयोग गरिने बताए ।

Rajbiraj Airport

विशेष