समाज

सप्तरी-सुनसरी सडक निर्माण एक वर्ष पछाडि धकेलियो

सप्तरी-सुनसरी सडक निर्माण एक वर्ष पछाडि धकेलियो
फागुन–२० । सप्तरीको कञ्चनरुप नगरपालिकाको रुपनगरदेखि सुनसरीको नहडासम्मको सडक निर्माण तोकिएको अवधिभन्दा एक वर्ष पछाडि धकेलिएको छ । तराई आन्दोलन र विनाशकारी भूकम्पका कारण तोकिएको अवधिमा सडक निर्माण पूरा हुन नसकेको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले जनाएको छ । आन्दोलनका बेला भएको नाकाबन्दीले आवश्यक सामग्री तथा उपकरण आउन सकेन भने भूकम्पपछि पहाडी जिल्लाका कर्मचारी घरतिर गएकाले काम छ महिना ठप्प भएको कम्पनीका कर्मचारी छकबहादुर गुरुङले बताए । राष्ट्रिय सरोकारको योजनाअन्तर्गत सम्झौता बमोजिम तीन वर्षभित्रमा पूरा गर्ने कम्पनीले दाबी गरे पनि उत्पन्न व्यवधानका कारण अवधि थप गरिएको हो । ६१ किमीको यो सडक २०७१ को फागुनबाट सुरु भई २०७४ को असारसम्ममा पूरा गर्ने सम्झौता थियो तर पछि भएको म्यादमा २०७५ को असारसम्ममा सम्पन्न हुने भनिएको छ । राष्ट्रिय योजनाअन्तर्गत निर्माण भएको सडकमध्ये पूर्वी तराई, भित्री तराईका वैकल्पिक सडक हो । यो सडक निर्माण भएपछि तराई र पहाडका गरी दर्जनौँ नगरपालिका र गाउँपालिका लाभान्वित हुने उदयपुरका व्यापारी चेतन राईले बताए । पूर्व पश्चिम लोकमार्गको वैकल्पिक सडकका रुपमा निर्माण भइरहेको यो सडकले सप्तकोसीको ब्यारेजको क्षमताभारलाई समेत भरथेग गर्ने प्राविधिकको धारणा छ । चतराको वराह क्षेत्र, धरानको पाथिभरालगायत पूर्वका देवस्थलमा जाने तीर्थयात्रीका लागि पनि यो सडक सुलभ र छिटो हुने बसाहाका यातायात व्यवसायी कुमार श्रेष्ठको भनाइ छ । सो सडकका लागि दुई अर्ब १७ लाग्ने अनुमान गरिएको छ । रासस

सडक निर्माण सप्तरी-सुनसरी

विशेष