स्वास्थ्य

स्वास्थ्य सेवामा अवरोध नगर्न स्वास्थ्यकर्मीहरुलाई मन्त्री थापाको आह्वान

स्वास्थ्य सेवामा अवरोध नगर्न स्वास्थ्यकर्मीहरुलाई मन्त्री थापाको आह्वान
फागुन - २० । स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवाहरु निर्वाध रुपले संचालन गर्न स्वास्थ्यकर्मीहरुलाई आह्वान भएको छ । मन्त्री थापाले शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य सेवा ऐन, २०५३ को दफा (ख)को विशेष पदस्थापनाको विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । वर्षौदेखि ऐनको उक्त दफा कार्यान्वयन नभईरहेका बेला आफू स्वास्थ्य मन्त्रालयको जिम्मेबारी सम्हालेपछि ऐनको उक्त दफा स्वास्थ्यकर्मीहरुको वृत्ति विकासमा बाधकको रुपमा रहेको महशुस गरी समस्या समाधानका लागि आफुले विभिन्न थप कार्यहरु गरेको उनले स्मरण गराए । उनले (ख) कार्यान्वयनका लागि पुल दरबन्दी सृजना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको र ऐनको दफा (ख) बमोजिम स्तर वृद्धि भएका स्वास्थ्यकर्मीहरुको दीर्घकालीन समस्या समाधानका लागि ऐन संशोधन गर्ने सैद्धान्तिक सहमति मन्त्रिपरिषदबाट प्राप्त भई ऐन संशोधन मस्यौदा समितिलाई कार्य जिम्मेवारी समेत दिइसकिएको जानकारी दिए। आगामी ३ महिना भित्रमा संशोधित ऐनको मस्यौदा व्यवस्थापिका संसदमा पेश गरी सम्पूर्ण समस्याको समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री थापाले विज्ञप्तीमा उल्लेख गरेका छन् । मन्त्री थापाले मन्त्रालयबाट भएका यी कार्यहरुलाई स्वागत गरी सम्पूर्ण स्वास्थ्यकर्मीहरु आ–आफ्नो काममा फर्कनुपर्नेमा स्वास्थ्यकर्मीहरुबाटै थप स्वास्थ्य संस्थाहरुमा तालाबन्दी गर्ने, आगामी फागुन २१ र २२ गते संचालन हुने पोलियो खोपलाई प्रभावित गर्ने, खोपका सरसामानहरु ओसारपसार गर्ने सवारीसाधनहरुलाई अवरोध गर्ने जस्ता अराजक क्रियाकलापहरु भइरहेको सुन्दा आफू अचम्मित भएको जनाएका छन् । संसारबाट उन्मुलन हुन लागेको पोलियो थोपा ५ वर्ष मुनीका बालबालिकालाई खुवाउनका लागि मन्त्रालयले तोकेको मितिमा स्वास्थ्यकर्मीहरुले स्वतस्फूर्त रुपमा सफल बनाउनुपर्नेमा स्वयं स्वास्थ्यकर्मीहरुबाट पोलियो थोपा खुवाउने कार्यलाई रोक्ने कुरा कल्पना समेत गर्न नसकिने उनकाे भनाइ छ । आधारभूत स्वास्थ्य सेवा पाउने नागरिकको मौलिक हक भएको उल्लेख गर्दै मन्त्री थापाले स्वास्थ्य सेवा सरकारको अत्यावश्यक सेवा भित्र पर्ने स्मरण गराएका छन्। साथै ५ वर्ष मुनीका बालबालिकालाई दिइने पोलियो थोपा खुवाउने कार्य रोक्नु संविधान र ऐनको बर्खिलाप हुने तर्क गर्दै उनले सामान्य मानवीयताको हिसाबले समेत यो क्ष्यम्य हुन नसक्ने स्पष्ट पारे। मन्त्री थापाले स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थामा लगाएको ताला तत्काल खोली निर्विवाद रुपमा पोलियो लगायत नागरिकहरुले पाउने सवै स्वास्थ्य सेवालाई सुचारु गर्ने अपेक्षा समेत गरे । स्वास्थ्य संस्थाहरुलाई निर्वाध रुपमा संचालन गर्नु मन्त्रालयको कर्तव्य भएकाले उक्त कर्तव्य पूरा गर्न मन्त्रालयले जुनसुकै कदम चाल्न समेत बाध्य हुने व्यहोरासमेत मन्त्री थापाले अपील गरेका छन् । यसैविच, मन्त्रालयले सेवा अवरोध भएका ठाउहरुमा सुरक्षा व्यवस्था गरी सेवा सुचारु गराउन सहयोग गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । स्वास्थ्य संस्थाहरुको तालाबन्दी खोली पोलियो खोप कार्यक्रम सुचारु गर्ने कार्यमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह गरेको हो । स्वास्थ्यकर्मीहरुको अवरोधका कारण यसअघि तराईका १२ र काठमाडौ उपत्यकाका ३ जिल्ला गरी १५ जिल्लामा पोलियो खोप कार्यक्रम हुन सकेको थिएन । भोली (शनिबार) र पर्सी (आईतबार) कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।

Gagan Thapa Minister gagan thapa

विशेष