समाज

एक्लै यात्रा गर्नु मेरो चाहना हैन - लुक्ला-काठमाडौँको हवाई यात्रा एक्ला यात्रु

एक्लै यात्रा गर्नु मेरो चाहना हैन - लुक्ला-काठमाडौँको हवाई यात्रा एक्ला यात्रु
फागुन - २० । सोलुखुम्बुकाे चौँरीखर्कस्थित एक विद्यालयमा अध्यापन गर्ने बाक्सिला खोटाङका विजय राई बिहीबार लुक्लाबाट काठमाडौँसम्म हवाईजहाजको यात्रु सिटमा एक्लै यात्रा गरे । तीनजना चालक दलका सदस्य भए पनि सीता एअरको यात्रु बस्ने १८ वटा सिटमा उन एक्लै थिए। यात्रुको सिटमा एक्लै यात्रा गरेको यो उनको पहिलो अनुभव हैन, यसपटकसमेत गरी उनले पाँचौँपटक एकल यात्रीको रुपमा लुक्ला–काठमाडौँको यात्रा गरेका छन् । “हवाई जहाजमा एक्लै यात्रा गर्नु मेरो चाहना हैन, बरु एअरलाइन्सको बाध्यता हो”, राईले भने । अहिले खुम्बु क्षेत्रमा पर्यटकीय मौसम सुरु भएको छ, त्यसैले राजधानीबाट लुक्ला जाने यात्रुको भीड नै लाग्छ, विदेशी पर्यटक र जाडो छलेर फर्कने स्थानीयवासीसमेत गरी दैनिक सयौँ यात्रु काठमाडौँबाट लुक्ला जान्छन् । त्यस्तै पर्यटकका लागि आवश्यक उपभोग्य सामान पनि हवाईजहाज कार्गो गरेरै ओसारिन्छ तर पर्यटक फर्कने बेला नभएकाले लुक्लाबाट फर्कंदा हवाईजहाज रित्तै फर्कनुपर्छ । आजभोलि मानिस वा कार्गो लिएर दैनिक लुक्ला आउने १५-२० वटा हवाईजहाज फर्कंदा रित्तै हुन्छन् वा एकाध यात्रु लिएर फर्कन्छन् । पर्यटन व्यवसायमा संलग्न सोलुखुम्बु बुङका नीरकुमार राई पनि आफू लुक्लाबाट थुप्रैपटक यात्री बस्ने सिटमा एक्लै बसेर यात्रा गरेको बताउँछन् । सगरमाथा क्षेत्रमा वर्षमा दुईपटक सिजन हुन्छ, वार्षिक ३५ हजारभन्दा बढी पर्यटक पुग्ने सगरमाथाको प्रवेशद्वारा लुक्ला हो । मुख्य सिजनका बेला लुक्ला विमानस्थलमा दैनिक सयको हाराहारीमा हवाईजहाज अवतरण हुन्छन् । “आजभोलियताबाट फर्कने मानिस हुँदैनन्, दुई-चारजना लिएर वा रित्तै पनि फर्कनुपर्छ'', तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पा भन्छन्, ''यहाँको अवस्था नै यस्तै भएकाले हामीलाई सामान्य लाग्छ ।” रासस

Sita Air

विशेष