समाज

भृकुटीमण्डपको पुस्तकालयमा किताब राख्ने ठाउँ नहुँदा समस्या

भृकुटीमण्डपको पुस्तकालयमा किताब राख्ने ठाउँ नहुँदा समस्या
फागुन - २० । स्थानीय भृकुटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा किताब राख्ने ठाउँ नहुँदा समस्या परेको छ। विसं २०६० असोजमा स्थापित उक्त पुस्तकालयमा पुस्तक धेरै र राख्ने ठाउँ थोरै छ। पुस्तकालयमा ४० हजारभन्दा बढी पुस्तक छन्। यसका ५७ संस्थापक सदस्य तथा एक हजार नौ सय दुई पाठक छन्। पाठकले सुरुमा एक हजार र वार्षिक दुई सय रुपैयाँ तिरेर सदस्य बन्न पाउँछन्। पुस्तकालय समाजको १३ औँ साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा पुस्तकालयका अध्यक्ष एवम् पूर्वमन्त्री डा नारायण खड्काले ठाउँको अभावले सङ्घसंस्था र व्यक्तिले दिएको किताब राख्ने ठाउँ नभएको बताए। डा खड्काले निम्नवर्गलाई ध्यानमा राखी पुस्तकालय खोलिएको बताउँदै यस्ता पुस्तकालयलाई राज्यले विशेष चासो दिनुपर्ने बताए। राष्ट्रपतिका परराष्ट्रविज्ञ डा मदन भट्टराईले बौद्धिक वर्गका लागि पुस्तकालय स्थापना भएको बताउँदै राज्यले पुस्तकालयलाई हेर्ने सोच सकारात्मक हुनुपर्नेमा जोड दिए। पूर्वसचिव सुरेशमान श्रेष्ठले सार्वजनिक पुस्तकालयको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए। शिक्षा मन्त्रालय पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौला, पुस्तकालय समाजका उपाध्यक्ष याङ्किला शेर्पा, महासचिव तीर्थराज वन्तलगायतले विश्व नयाँ युगमा प्रवेश गरेसँगै पुस्तकालयको महत्व बढ्दै गएको बताए।

Book Store

विशेष