समाज

सदरमुकामवासी दूषित पानी प्रयोग गर्न बाध्य

सदरमुकामवासी दूषित पानी प्रयोग गर्न बाध्य
फागुन–२१ । साेलुखुम्बु जिल्लाकाे सदरमुकाम सल्लेरीबासी दूषित पानी पिउन बाध्य छन् । यहाँ पानीको मुहानको सरसफाइ तथा खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन । सदरमुकामबासीले पटक पटक गुनासो पोख्दै आए तापनि सरोकार भएकाहरुले चासो नदिँदा तथा स्थानीय घरबेटीको पहलकदमी कमजोर हुँदा फोहर पानी पिउनुपर्ने बाध्यता छ । सदरमुकाममा प्रशस्तै खानेपानीको मुहान भए तापनि उचित किसिमले सञ्चालनमा नआउँदा समस्या उत्पन्न भएको हो । वाकु सोलुखुम्बु घर भई हाल दूधकुण्ड नगरपालिका–५ सल्लेरीमा बस्दै आएकी सिर्जना मगर दूषित पानी पिउनु परेको गुनासो गर्छिन् । मगर भन्छिन् “के शुद्ध के अशुद्ध, खोलाको पानी पाइपबाट ल्याई प्रयोग गरिरहेकी छु, त्यही भएर होला बेला बेलामा विभिन्न स्वास्थ्य समस्या आउने गरेको छ ।” मगरको मात्र हैन धेरैको यस्तै गुनासो छ । पानीको मुहान प्रशस्तै भए तापनि मुहान पहिचान गर्न र भएका मुहानको संरक्षण गरी व्यवस्थित बनाउन नसक्दा समस्या उत्पन्न भएको छ । दूषित खानेपानी प्रयोगकै कारण विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुने गरेको र पटक पटक गुनासो राख्दा समेत आफूहरुको गुनासोलाई नगरपालिकाले सम्बोधन नगरेको दूधकुण्ड नगरपालिका–६ नयाँ बजारका टेकबहादुर राईले बताए । नयाँ बजारमा प्रयोग हुने पानीको मुहान केही माथि भए तापनि त्यसको संरक्षण तथा सरसफाइ भने नभएको राईको भनाइ छ । स्थानीयवासीको यस्तो गुनासो आइरहँदा जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन सोलुखुम्बुका सब डिभिजन प्रमुख कुलप्रसाद शर्मा भने आफूहरुकामा स्थानीयवासीको गुनासो नआएको बताउँछन् । खानेपानीको शुद्धता नाप्ने यन्त्र कार्यालयले ल्याए पनि जानकारीको अभावले खानेपानी शुद्ध हो या अशुद्ध भनेर कसैले प्रयोग नगरेको उनको भनाइ छ । शर्मा भन्छन् “सदरमुकामको खानेपानी सुरक्षा योजना लागु भएको र चाँडै सदरमुकाममा उपभोक्ता समिति गठन गरी काम अगाडि बढाउने लक्ष्य छ, त्यसैले अब समस्याको समाधान हुन्छ ।” नगरवासीलाई शुद्ध पानीको पहुँचमा ल्याउन नगरपालिकाको काम भए तापनि यसका बारेमा कुनै योजना बनाइएको पाइँदैन । आगामी दिनमा खानेपानी कार्यालयसँग सहकार्य गरी नगरपालिकाभित्र खानेपानी व्यवस्थित गरिने दूधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भट्टराईले आश्वासन दिनुभयो । रासस

दूषित पानी सदरमुकाम साेलुखुम्बु

विशेष