स्वास्थ्य

तातोपानी स्वास्थ्य चौकीमा ल्याब सेवा बन्द, बिरामी मर्कामा

तातोपानी स्वास्थ्य चौकीमा ल्याब सेवा बन्द, बिरामी मर्कामा
फागुन - २१ । म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य चौकीमा सञ्चालित ल्याब सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन्। बजेट र जनशक्तिको अभावमा ल्याब सञ्चालन नहुँदा सर्वसाधारण सो सेवाका लागि सदरमुकाम धाउन बाध्य भएका हुन्। चौकीमा कार्यरत ल्याब असिस्टेन्ट विवाह गरेर मुस्ताङ गएपछि गत भदौदेखि सेवा बन्द भएको हो । स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ल्याब असिस्टेन्टलाई तलब उपलब्ध गराइँदै आएको थियो । प्राविधिक नहुँदा गर्भजाँच, रगत, युरिक एसिड, कमलपित्त, एनिमिया, एचआइभी, क्षयरोग, सुगर, पिसाब परीक्षण सेवा बन्द भएका स्वास्थ्य चौकीका निमित्त प्रमुख विक्रम पुनले बताए। ल्याब बन्द हुँदा सो सेवाका लागि भुरुङ तातोपानी, नारच्याङ, दाना, शिख, घार, दोवाका बासिन्दाहरु सदरमुकाम पुग्न बाध्य भएका स्थानीय दशरथकुमार कर्माचार्यले गुनासो गरे। दैनिक दश जनाको अनुपातमा ल्याब सेवा लिन आउने बिरामी फर्कन बाध्य भएका छन् । प्राबिधिक नहुँदा यस वर्ष गाविस कार्यालयले स्वास्थ्य चौकीलाई दिदै आएको अनुदान कटौती गरेको छ । गाविस र भुरुङ तातोपानी कुण्डको अनुदान सहयोगमा ल्याब असिस्टेन्टलाई तलबको व्यवस्था गरिँदै आएको थियो । प्राविधिक जनशक्ति खोजी र आर्थिक स्रोत व्यवस्था गरेर सेवा सञ्चालन गर्न पहल भइरहेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष आत्मा तुलाचनले बताए।

Lab Test

विशेष