अपराध सुरक्षा देश

जाजरकोटमा ५ सय ४५ मोतिबिन्दु विरामीको निःशुल्क उपचार

जाजरकोटमा ५ सय ४५  मोतिबिन्दु विरामीको निःशुल्क उपचार
फागुन - २१ । गाउँमै आँखाको शल्यक्रिया भएपछि सय भन्दा बढी मोतिबिन्दुका बिरामी खुशी भएका छन् । रोगले कुनै पनि बस्तु देख्न नसक्ने आँखाको ज्याेतिले संसार देख्न सक्ने भएपछि सय बढी मोतिबिन्दुका बिरामीहरु खुशी भएका हुन् ।
मोतिबिन्दु रोगका कारण दुई बर्ष पहिलेदेखि आँखा देख्न छोडेका नायकवाडा–२ रावत जिरिका ७० वर्षीय दलबहादुर रोकायको आँखा शल्यक्रिया भएपछि आँखा देख्न सक्ने भएर घर फर्केका छन् । तीन दिनको पैदल यात्रामा अर्काको सहारामा रिम्ना पुगेका रोकाय उपचारपछि आफैँ हिडेर घर फर्कन सक्ने भएका छन् । त्यसैगरी लहँ–१ भारगाउँ कि ४५ वर्षीया आईती वुढा मोतिबिन्दुका कारण दुई बर्ष पहिलादेखि आँखा देख्न छोडिसकेकी थिइन भने, उनकी २२ वर्षीया छोरी भवी वुढा बिगत ९ महिनादेखि दुवै आँखा देख्न नसक्ने भएकी थिइन् । दुई दिनको पैदल यात्रा गरेर रिम्ना पुगेका आमा-छोरी दुवैको सफल उपचारपछि निकै खुशी भएका छन् । २२ बर्षको उम्मेरमा आँखा देख्न नसक्ने भएकी बुढा आँखा देख्न सक्ने भएपछि आफूले नयाँ जीवन पाएको बताइन् जाजरकोट रिम्नामा सञ्चालन गरिएको आँखा शिवीरवाट रुकुम र जाजरकोट जिल्लाका बिभिन्न ठाउँका ५ सय ४५ जना बिरामीले सेवा लिएको जाजरकोट आँखा उपचार केन्द्रमा कार्यरत प्रदीप जंग शाहले जानकारी दिए । तीन दिनसम्म सञ्चालन गरिएको आँखा शिविरले १ सय ४१ जना मोतिबिन्दुका बिरामीहरुको उपचार गरिएकाे शाहले बताए । उक्त शिविरमा बाईमेट्री लेन्स पावर जाँच मेसिनको प्रयोग गर्नुको साथै, पर बिरामी पर अप्रेशन सामाग्री प्रयोग गरेर बिरामीलाई सेवा प्रवाह गरिएको शाहले दावी गरे । अप्रेशन गरिएका अधिकांस बिरामीहरु महिला, दलित जनजातीहरु रहेको शाहले बताए । नेपाल रेडक्रस सोसाईटी, सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा जाजरकोट, जुरेस भेरी त्रिबेणी मावि रिम्ना र भेरीमालिका नगरपालीकाको आयोजनामा यही फागुन १९ गतेदेखि २१ गतेसम्म भेरी त्रिबेणी मावि रिम्नामा तीन दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।
शिविरको अन्तिम दिन शनिवार निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा, स्थानिय विकास अधिकारी रुद्रप्रशाद पण्डित, भेरीमालिका नगरपालीकाका कार्यकारी अधिकृत रामप्रशाद शर्मा लगाएतका ब्यक्तिहरु शिविर स्थलमा पुगेर बिरामीहरुलाई फलफूल बितरण गरेका थिए । नेपाल रेडक्रस सोसाईटी, जाजरकोट शाखाले २०३७ साल देखि जिल्लामा आँखा शिविर सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाईटी, जाजरकोट शाखाका महामन्त्री हरि बस्नेतले बताए । नेपाल रेडक्रस सोसाईटी, जाजरकोट शाखाले ३७ सालमा पहिलो पटक सञ्चालन गरेको आँखा शिविर डाडाँगाउँ गाविसको कैनामा सञ्चालन गरेको महामन्त्री बस्नेतले जानकारी दिए । २०३२ सालमा शाखा स्थापना भएको नेपाल रेडक्रस सोसाईटी, जाजरकोट शाखाले तीन–तीन बर्षको अन्तरमा जिल्लामा आँखा शिविर सञ्चालन गर्दै आएको थियो । २०४८ सालमा जिल्लामा आँखा उपचार केन्द्र स्थापना भएपछि नेपाल रेडक्रस सोसाईटी, शाखाले बर्षपिच्छे आँखा शिविर सञ्चालन गर्दै आएको छ । बर्षेणी शिविर सञ्चालन गर्दै आएको रेडक्रस सोसाईटी जाजरकोट शाखाले हालसम्म १० औं हजार बिरामीहरुको माेतिबिन्दुकाे उपचार गरिसकेकाे जनाएकाे छ ।
दीपबहादुर घर्ती / जाजरकाेट   

मोतिबिन्दु

विशेष