वन फँडानीका कारण जीवजन्तु सङ्कटमा
फागुन–२२ । म्याग्दीका हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेका जङ्गलबाट जथाभावी वन पैदावर तथा जडीबुटी निकाल्नुका साथै वन फँडानी हुने क्रम बढ्दै गएपछि त्यस क्षेत्रका जीवजन्तु सङ्कटमा पर्न थालेका छन् ।
उच्च पहाडी क्षेत्रका जीवजन्तुको आहारा तथा औषधि भनेको नै त्यहाँ रहेका जडीबुटी, फलफूल तथा पातपतिङ्गर भएकाले त्यसको संरक्षणबाट मात्र हिमाली तथा पहाडी क्षेत्रको सौन्दर्यलाई बढाउनुका साथै जीवजन्तुको वासस्थानलाई सुरक्षित गर्न सकिने सरोकारवालाले बताएका छन् ।
बाबियाचौर इलाका वन कार्यालयका प्रमुख तथा जडीबुटी विज्ञ चन्द्रमणि सापकोटका अनुसार वन जङ्गलको विनाश र मानवीय क्रियाकलापका कारण म्याग्दीका उच्च पहाडी भेगका जङ्गलबाट जीवजन्तुले वासस्थान छोड्दै गएका छन् ।
वातावरण संरक्षण ऐन २०५३ मा जङ्गलबाट पाँच टन भन्दा बढी जडीबुटी सङ्कलन गर्नुपर्दा प्रारम्भिक वातावरण सर्भेक्षण गर्नुपर्ने र त्यहाँ रहेका वन्यजन्तुलाई कस्तो असर पर्छ भन्ने कुरा खुलाउनुपर्ने हुन्छ ।
जङ्गलमा रहेका जडीबुटीमध्ये ६० प्रतिशत मात्र जडीबुटी निकाल्न अनुमति दिने र बाँकी ४० प्रतिशत जङ्गलमा नै रहन दिनुपर्ने कानुनी प्रावधान छ ।
कार्यालयका अनुसार म्याग्दीका उच्च पहाडी क्षेत्र गुर्जा, लुलाङ, मुदी लगायतका ठाउँ र धौलागिरी, निलगिरी, चुरेन र गुर्जा हिमालको तल्लो भेगमा यार्सागुम्बा, जटामसी लगायतका जडीबुटी र वन पैदावर निकाल्नुका साथै अन्य क्षेत्रमा पनि वनको संरक्षणमा स्थानीयवासीले खासै पहल नगर्दा वन्यजन्तुको वासस्थान नासिँदै गएको हो ।
यहाँका उच्च पहाडी क्षेत्रमा केही वर्ष अघिसम्म प्रशस्त मात्रामा पाइने तित्रा, वन ढिकुर, जुरेलो, कालीजलगायतका पक्षी, मृग, रतुवा, फ्याउरो, स्याललगायत जङ्गली जनावर अहिले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय बासिन्दाहरुले बताएका छन् ।
उपभोक्ताले घर निर्मार्णका लागि आवश्यक पर्ने काठ अधिकांश सामुदायिक वनबाट नै ल्याइने र इन्धनको रुपमा दाउराको प्रयोग गरिनुले पनि जङ्गल फँडानी हुने क्रम बढ्दै गएको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य देवबहादुर घलेले बताए । रासस
जीवजन्तु
वन फँडानी
सङ्कट