स्वास्थ्य

नियमित खोप सेवा मार्फत सरसफाई प्रवर्धन गर्न महिला स्वास्थ्य स्वयमसेविका परिचालन

नियमित खोप सेवा मार्फत सरसफाई प्रवर्धन गर्न महिला स्वास्थ्य स्वयमसेविका परिचालन
फागुन–२२ । एक वर्ष मुनिका बच्चालाई लगाईने नियमित खोप सेवा मार्फत सरसफाई प्रवर्धन गर्न जाजरकाेट जिल्लाका १ सय २९ खोप केन्द्रमा महिला स्वास्थ्य स्वयम सेविका परिचालन गरिएको छ । खोप केन्द्मा पुगेका बच्चाका आमा तथा अभिभावकलाई सरसफाई सम्बन्धि ५ व्यवहारकाे महत्वबारे जानकारी गराउन महिला स्वास्थ्य स्वयम सेविका परिचालन गरिएको हो । खोप केन्द्रमै सञ्चालन गरिने कक्षामा ६ महिनासम्म बच्चालाई स्तनपान मात्र गराउने, सुरक्षित खाना खुवाउने, साबुन पानीले मिचिमिचि हात धुने, दुध र पानी उमालेर मात्र बच्चालाई खुवाउने, सफा चर्पीको प्रयोग र बच्चाको दिसाा चर्पीमा नै फाल्ने जस्ता ५ व्यवहार परिवर्तन सम्बन्धि बच्चाको आमा तथा अभिभावकलाई शिक्षा दिईने गरेको महिला स्वास्थ्य स्वयम सेविका सरिता शाहले जानकारी दिईन् । कक्षामा विभिन्न किसिमका क्रियाकलाप, खेलको माध्यमबाट सेसन सञ्चालन गरिने शाहले बताईन् । व्यवहार परिवर्तन सम्बन्धि सन्देशमुलक सामाग्रीको प्रयोगले बच्चाका आमाहरु सक्रिय हुँदै गएको शाहले दाबी गरिन् । कक्षामा सहभागि बच्चाका निरिक्षर आमा तथा अभिभावकहरुका लागि ध्वनीको प्रयोगबाट शिक्षा दिने गरिएको उनले बताईन् । पहिलो पटक खोप लगाउन खोप केन्द्रमा पुगेका बच्चा र आमालाई ब्यबहार परिवर्तन सम्बन्धि सन्देश लेखिएको ऐना, दोश्रो पटक खोप लगाउन खोप केन्द्रमा पुगेका बच्चा र आमालाई व्यवहार परिवर्तन सम्बन्धि सन्देश लेखिएको रालेटालो, तेश्रो पटक खोप लगाउन खोप केन्द्रमा पुगेका बच्चा र आमालाई ब्यबहार परिवर्तन सम्बन्धि सन्देश लेखिएको पंखा, चौथो पटक खोप लगाउन खोप केन्द्रमा पुगेका बच्चा र आमालाई व्यवहार परिवर्तन सम्बन्धि प्रतिबद्धता पत्र र पाँचौ पटक खोप लगाउन खोप केन्द्रमा पुगेका बच्चा र आमालाई व्यवहार परिवर्तन सम्बन्धि सन्देशमुलक नमुना परिवारको लोगो दिने गरिएको स्वयम सेविका शाहले जानकारी दिईन् । खोप केन्द्रबाट दिईने व्यवहार परिवर्तन सम्बन्धि सन्देशमुलक सामाग्रीहरुले बच्चाका आमा तथा अभिभावकलाई नैतिक रुपमा दवाव सृजना गर्ने अपेक्षा गरिएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखा अन्तरगतको नियमित खोप सेवा मार्फत सरसफाई प्रवद्र्धन कार्यक्रमले महिला स्वास्थ्य स्वयम सेविका परिचालन गरेर झाडापखालाका कारण हुने बाल मृत्युदर घटाउन ६ महिनासम्म बच्चालाई स्तनपान मात्र गराउने, सुरक्षित खाना खुवाउने, साबुन पानीले मिचिमिचि हात धुने, दुध र पानी उमालेर मात्र बच्चालाई खुवाउनु पर्ने, सफा चर्पीको प्रयोग र बच्चाको दिसा चर्पीमा नै फाल्ने सरसफाईका यिनै ५ व्यबहारवारे आमालाई जानकारी दिन खोप केन्द्रमा कक्षा सञ्चालन गर्दै आएको छ । वाटरएडको आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रम जाजरकोट, बर्दिया र नवलपरासीमा नमुना कार्यक्रमका रुपमा संचालनमा रहेको छ । सरसफाई सम्बन्धिका ५ व्यवहारमा सुधार गरेर नियमित खोप सेवा मार्फत सरसफाई प्रवर्धन कार्यक्रमले बच्चाहरुलाई लाग्ने झाडापखाला जस्ता महामारीलाई कम गर्ने कार्यक्रमले लक्ष्य राखेको छ । राष्ट्रिय तथ्याङ्क अनुसार नियमित खोप लगाउने बालबालीका ८७ प्रतिशत रहेका छन् भने, जाजरकोटमा ९७ प्रतिशत बालबालीकाहरुले नियमित खोप लगाउने गरेको जिल्ला अस्पतालले जानकारी दिएको छ । पैंक, झाप्रा, टालेगाउँ, अर्छानी, ढिमे, लहँ लगाएतका जिल्लाका १२ वटा गाविस पुर्णखोपयुक्त गाविस घोषणा भैसकेका छन् । –दीपबहादुर घर्ती

जाजरकाेट नियमित खोप सेवा महिला स्वास्थ्य स्वयमसेविका सरसफाई प्रवर्धन

विशेष