खेल

प्रथम महिला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैतमा आयोजना हुँदै

प्रथम महिला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैतमा आयोजना हुँदै
फागुन–२२ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रथम महिला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा प्रतियोगिता चैत २३ गतेदेखि हुने भएको हो । प्रतियोगितामा दक्षिण एसियाली राष्ट्र नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान गरी ६ राष्ट्रका करिब १ सय ६९ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नन्दा बस्यालले जानकारी गराइन् । हरेक दुई वर्षमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित पहिलो पटक २०७१ को फागुनमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितालाई अझ व्यापक बनाउने उद्देश्यसाथ योपटक अन्तराष्ट्रिय प्रतियोगता गर्न लागिएको संयोजक बस्यालले बताइन् । तेह्र स्पर्धामा समावेश दुईदिने प्रतियोगितामा गेरोगीमा सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूह तथा पुम्सेमा ४ विधामा खेल हुनेछ । जुनियरमा ४०, ४२ र ४४ तथा सिनियरमा ४६, ४९, ५३, ५७, ६२ र ६७ केजी तौलको समूहमा प्रतिस्पर्धा गराइने छ । पुम्सेमा यु–१५, यु–१९ र प्लस १९ र समूहगत तर्फ खेलाडीले आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् । सम्मेलनमा संयोजक बस्यालले पुरुष प्रधान हाम्रो देशमा महिलाहरुले पनि केहि गरेर देखाउन सक्छन् भन्ने सन्देश प्रवाह गर्न महिला टोलीले यो प्रतियोगिताको सुरुआत गरेको र आगामी दिनमा पनि विभिन्न कार्यक्रम गर्ने बताइन् । प्रतियोगितामा गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेताले भने भाग लिन पाउने छैनन् । पाँच क्षेत्र, विभागीय टोली नेपाल प्रहरी क्लब, त्रिभूवन आर्मी क्लब र नेपाल एपीएफ क्लब गरी ८ टिमका ९६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । २० महिला निर्णायक परिचालन गरिने छ ।

अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता महिला

विशेष